भद्रपुर(ब्लाष्ट) भारतबाट अवैध रूपमा भन्सार छलेर नेपाल भित्राइएको करिब ३ लाख रुपैयाँ मूल्य बराबरको सुर्ती बरामद गरिएको छ । प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको टोलीले मेचीनगर नगरपालिका ६ स्थित नकलबन्दाबाट उक्त मूल्य बराबरको सुर्ती बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
भारतबाट भन्सार छलेर नेपाल भित्राइएको सुर्ती लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा ६ सय केजी परिणामको सुर्ती फेला परेको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । बरामद गरिएको सुर्तीलाई मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको जनाइएको छ ।
त्यसैगरी नेपालमा प्रतिबन्धित रहेको तयारी बाबा खैनी र नवाब मडुवा सुर्ती गरी ७ बोरा सुर्ती प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी गस्ती टोलीले भद्रपुर ३ स्थित नाउघाटबाट सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भारतबाट तीनओटा साइकलमा राखेर नेपाल ल्याउँदै गरेको अवस्थामा ६ बोरा बाबा खैनी र १ बोरा नवाब सुर्ती बरामद गरिएको जिल्लाका डिएसपी श्रेष्ठले जानकारी दिए । बरामद गरिएको सुर्तीको अन्दाजी ७० हजार रुपैयाँ बजार मूल्य कायम गरी भद्रपुर भन्सार कार्यालय पठाइएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।