भद्रपुर/ झापाको कन्काई नगरपालिका–४ स्थित कन्काई माईको पुलमा रहेको डिभाइडरमा दुई महिना अघि प्रेसर कुकर बम राख्ने समूहलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ ।
झापा अदालतले घटनामा संलग्नहरू दमक नगरपालिका–१ का ४२ वर्षीय सञ्जय भन्ने खगेन्द्र खरेल, सङ्खुवासभा खाँदबारी नगरपालिका–८ हिगुवा घर भई हाल मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का २१ वर्षीय कमल भन्ने लालमणि कर्णाखर कोइराला, मोरङ उर्लाबारी नगरपालिका–१ का १९ वर्षीय मनिष माझी र शिवसताक्षी नगरपालिका–१० का ६४ वर्षीय चौहान साइँला भन्ने रामचन्द्र चौहानलाई पुर्पक्षका लागि जिल्ला कारागार कार्यालय चन्द्रगढी चलान गरेको हो ।
कारागार चलान भएकामध्ये अदालतले चौहानलाई डेढ लाख रुपैयाँ धरौटी मागेको थियो । धरौटी रकम तिर्न नसकेर चौहान पनि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही घटनामा पक्राउ परेका हल्दीबारी गाउँपालिका–७ का २७ वर्षीय दीपेश न्यौपाने भने एक लाख रुपैयाँ धरौटी रकम तिरेर तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनीहरूलाई अदालतको आदेशअनुसार सोमबार बेलुका कारागार पठाइएको डिएसपी श्रेष्ठले बताए ।
गत वैशाख २९ गते कन्काई माईको पुलमा रहेको डिभाइडरमा गोर्खा नेपाल जनमुक्ति मोर्चा नामको पर्चासहित प्रेसर कुकर बम राखेर उनीहरू आफैले मोबाइलबाट जिल्ला प्रहरी कार्यालय झापाको कण्ट्रोल रुममा फोन गरेर जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष प्रहरी टोलीले बम राख्ने पाँचै जनालाई सोही दिन पक्राउ गरेको थियो । झापा र सुनसरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरूविरुद्ध सङ्गठित अपराध अन्तर्गत बम विष्फोट मुद्दा दर्ता गरेको थियो ।