भोजपुर / जिल्ला सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारीलाई आफ्नै प्रिन्सिपलले कुटपिट गरेका छन् । भोजपुर नगरपालिका ७ मा रहेको विद्यालयका प्रिन्सिपल रमेशकुमार आलेले शिक्षक अधिकारीलाई आइतबार कुटपिट गरेका हुन । टाई र कोट नलगाएको निहुँमा प्रिन्सिपल आलेले कुटपिट गरेको शिक्षक अधिकारीले बताए ।
उनले भने “प्रिन्सिपल आलेले ‘खलासी जस्तो भएर आउन’े भनेर गाली गर्नु भयो म कसैको गाली खान आएको हैन मलाई खलासी नभन्नुहोस् भन्दा वाहिर प्यासेजमा ल्याएर मलाई कुट्नु भयो” । शिक्षक अधिकारीले थपे –‘पढाइ सके पछि स्टाफ रुममा टाई र कोट झुण्ड्याएर जान्थे ,विद्यालय समयमा लगाएर आउँथे, त्यो दिन पनि खाना खाई सकेर कपडा लाउँदै गर्दा सहयोगी मार्फत बोलाएर उहाँले खलासी जस्तो भएर आउने भन्दै कुटनु भयो । यस अघि पनि पटकपटक प्रिन्सिपल आलेले धम्की दिने गरेको र आइतबार भने कुटपिट गरेको उनले बताए ।
ताप्लेजुङ घर भएका २८ वर्षीय अधिकारीले पाँच महिनादेखि विद्यालयमा कक्षा ७ देखि १० सम्म अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउने गरेका थिए । अधिकारीले आफ्नो साथमा विद्यालयको नियुक्ति पत्र पनि नभएको बताएका छन् । विद्यालयले एक महिनाको पारिश्रमिक ३५ हजार समेत रोक्का गरेर आफूलाई विदा गरेको उनले दुखेसो गरे । घटना पछि शिक्षक अधिकारीले सोमबार प्रहरी प्रशासन गुहारेका छन् । शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ र जिफन्टलाई वोधार्थमार्फत उनले लिखित निवेदन दिएका हुन् । जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले कारवाहीको माग गर्दै निवेदन लिएर आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरी समस्या समाधान गरिदिन लेखि पठाएको बताए । जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रुद्र राईले दुवै पक्षलाई बोलाएर छलफल गरी समस्याको समाधान खोजिने बताए । निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनका भोजपुर अध्यक्ष समेत रहेका प्रिन्सिपल आलेले भने यसबारे केही बताएका छैनन् । विद्यालयका प्रिन्सिपल आलेले भने कुटपिट गरेको नभई सम्झाएको बताए । यसअघि पनि अधिकारी विरुद्ध अभिभावकबाट गुनासो आएकाले सम्झाउने गरेको उनले दावी गरे । आफूले शिक्षक अधिकारीको पारिश्रमिक भने दिइसकेको प्रिन्सिीपल आलेले बताए ।