भोजपुर/ सिंचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख घूससहित पक्राउ परेका छन् । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर मोहनबाबु यादव एक लाख ८० हजार रुपैयाँ घूस लिँदै गर्दा सोमबार पक्राउ परेका हुन् ।

उनलाई उपभोक्ता समितिबाट घूस लिँदै गर्दा रङ्गेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । षडानन्द नगरपालिका–१३ मा रहेको छाँगेखोला सिंचाइ आयोजनाको चालू आर्थिक वर्षको योजनाको फरफारक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इञ्जिनियर यादवले घूस लिएको अख्तियारको दाबी छ ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको झण्डै ९८ लाख लागत अनुमान रहेको सिंचाइ आयोजनाको यस वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको थियो । उपभोक्ता समितिका अनुसार इञ्जिनियर यादवले २० प्रतिशत कमिसन दिए मात्र मूल्याङ्कन गरी बिल पास गरिदिने भन्दै घूस मागेका थिए ।

घूस लिन इञ्जिनियर यादव कार्यालयनजिकै रहेको फुपू–भदैनी खाजा घर एण्ड लजमा पुगेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले उनलाई घूस लिँदै गर्दा होटलबाटै रङ्गेहात पक्राउ गरेको हो ।

भोजपुरमा यसअघि पनि जिल्लाको हतुवागढी गाउँपालिकामा कार्यरत इञ्जिनियर मिसुहाङ किरात र सव–इञ्जिनियर नइन्द्र पारोहाङ राई घूस लिएको रकमसहित पक्राउ परेका थिए ।