उर्लाबारी/ गोरु कुटेको आरोपमा उर्लाबारी–१ का प्रेम लिम्बूलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।
छिमेकी रमेश कार्कीको बाटोमा डोरीले बाँधेको गोरुलाई असार २७ गते फरुवाको बिँडले कुटपिट गरी घाइते बनाएको उजुरी इलाका प्रहरी कार्यालयमा दर्ता भएपछि आइतबार लिम्बूलाई पक्राउ गरिएको इन्स्पेक्टर रामप्रसाद तिमल्सिनाले बताए । कार्कीसँग सम्बन्ध राम्रो नभएपछि गोरु कुटेको प्रहरी समक्ष लिम्बूले बताए ।
आरोपित लिम्बूलाई आइतबार अनुसन्धानको लागि म्याद थप गरिएको र मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २८९ को उपदफा १ बमोजिम पशुपंक्षी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गराइएको इन्स्पेक्टर तिमल्सिनाले बताए ।
आरोप प्रमाणित भए ६ महिना जेल र ५० हजारसम्म जरिवाना हुने प्रावधान रहेको छ । नेपालमा सम्भवत पशुपंक्षीलाई कुटपिट गरी कानूनी कारबाही अगाडि बढेको यो नै पहिलो मुद्दा हुन सक्ने प्रहरीले जनाएको छ । लिम्बूको कुटाइबाट घाइते गोरुको उपचार भइरहेको छ ।