इटहरी । ६ वर्षअघिसम्म इटहरीमा खुलेका बग्रेल्ती क्याविन–रेष्टुरेण्टसँगै केही होटलमा महिलालाई राखेर यौनधन्दा सञ्चालन गरेको व्यापक गुनासो प्रहरीसमक्ष आउने गथ्र्यो । प्रहरीले बेला–बेलामा होटल निगरानी गर्दा पनि कुनै सुधार हुन सकेको थिएन ।
२०७० जेठबाट केही महिनासम्म प्रहरीले पूरै कडाइ गर्यो । त्यतिबेला इटहरी तथा वरपरका केही होटलमा फस्टाएको यौन व्यापारविरुद्ध प्रहरीले अप्रेसन थालेर सातजना सञ्चालकलाई मानव बेचबिखन तथा ओसार–पसारमा मुद्दा नै चलाएको थियो । त्यो बेला इटहरीका डिएसपी विनोद शर्माले यौनधन्दा सञ्चालन गरेको आरोपमा सञ्चालकलाई नै पक्राउ गरी मुद्दा चलाएका थिए ।
एकपटक प्रहरीले सञ्चालकलाई मुद्दा चलाएपछि यौनधन्दा सञ्चालनका लागि केहीले रूप परिवर्तन गर्न थाले । सञ्चालकले श्रीमती बनाउने बहानामा यौन कार्य गर्न लगाउने गरेको पनि भेटिएको थियो । त्यस्तो गर्नेलाई पनि प्रहरीले कारबाही गर्यो । तर पछिल्लो केही समययता पुनः यौनधन्दाको विषय दिन प्रतिदिन बाहिर आउन थालेको छ । शुक्रबार प्रहरीले इटहरी–१७ मा रहेको प्रियन्स होटल एण्ड लजले जबरजस्ती यौनधन्दा गराएको पाइएको छ । इलाम घर भएकी २५ वर्षीया किशोरीलाई होटलमा जबरजस्ती यौनधन्दा गराएको भन्दै होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । होटलका सञ्चालक इटहरी–५ का नारायण चौधरी र खनारका रोहित चौधरीलाई प्रहरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
होटल सञ्चालकहरूले जबरजस्ती यौनधन्दा गराएपछि उनीहरूलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसार–पसार कसूर अन्तर्गत मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीको पश्चिमलाइनमा यौनधन्दाको ग्राफ केही बढ्दो देखिएको बताउँछन् इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर जितेश दाहाल । शहरकै बदनाम हुने अवस्था भएपछि अहिले हामी कडाइ गर्न थालेको बताए । ‘अहिले प्रायः दैनिक चेकिङ पनि शुरु गरेका छौं’ –दाहालले भने ।
प्रहरीले इटहरी क्षेत्रमा यौनधन्दा रोक्न सक्रियता देखाए पनि केही सीमित सञ्चालकले अनेक उपाय रचेर बेलाबखत गरेका कार्य पनि बाहिरिँदै गएको प्रहरी बताउँछ । इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर बुद्धि चौंलागाई भन्छन्, ‘कर्लगर्लहरूको समस्या केही महिनायता बढ्दो रहेको छ ।’ उनले जनताको जनगुनासो बढ्दो रहेको बताए । यौनकर्मी र यौनधन्दा गराउनेलाई नछोड्ने उनको भनाइ छ ।
गुनासोकै क्रममा पछिल्लो समय पूर्व–पश्चिम राजमार्गले छोएको इटहरी वडा नं. १६ र १७ मा पर्ने लविपुर चोक हुँदै बालग्रामचोकदेखि पश्चिमतर्फ सडकको दुवैतर्फ रहेका होटलमा यौनधन्दा गराउने गरेको गुनासो गाउँलेले प्रहरीसमक्ष गर्ने गरेका छन् । यी दुवै वडामा सञ्चालित होटलबाट प्रहरीले जेठ महिनामा मात्र १२–१३ जोडीलाई पक्राउ गरिसकेको छ । ‘होटलमा चेक गर्दा स्कुले छात्रा नै ब्वाइफ्रेण्डसँग भेटिइन्, कक्षा नौ मा पढ्ने ती छात्रालाई अभिभावकको जिम्मा लगाइसकिएको छ’–इन्स्पेक्टर चौंलागाईंले भने ।
स्थानीयबासीले यौनधन्दा गराउनेहरूले गाउँठाउँकै बदनाम गरेको भन्दै आपत्ति जनाएका छन् । सोही ठाउँमा आइतबार नै पेन्स होटलमा खुलेआम यौनधन्दा गराइरहेको देखेपछि गाउँलेले विरोध गरेका थिए । यसरी यौनधन्दा नगराउनू भन्दै होटलमा पुगेका हीरा गिरीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले केही व्यवासायीले गति छोडेको बताए । ‘हामी यस विषयमा गम्भीर छौं, इटहरीको बदनाम गराउन खोजियो, पहिलाको जस्तो यौनधन्दा भएको छैन’ पराजुलीले भने, ‘स्थानीयसँग व्यवसायीको सहकार्य नमिल्दा अहिले समस्या आइरहेको छ ।’ यौनधन्दा गराउनेलाई कारबाही गरिने अध्यक्ष पराजुलीको भनाइ छ ।