बिर्तामोड। जिल्ला प्रहरी कार्यालय झापाले एकसाताको अवधिमा मोटरसाइकल चोरीको घटनामा संलग्न १३ जना सहित १९ वटा मोटरसाइकल बरामद गरेको छ ।
बिषेशगरी बिर्तामोड क्षेत्रमा मोटरसाइकल चोरीको घटना बढेपछि झापा प्रहरीले ‘स्पेशल स्क्वाड फर बाइक हन्ट’ गठन गरेको एसपी दिनेश मैनालीले जानकारी दिए । प्रहरीले गठन गरेको टोलीले एकसाताको अवधिमा गरेको खोजतलासका क्रममा १३ जनालाई पक्राउ गर्न सफल भएको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर मैनालीले बताए ।
प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गौरादह नगरपालिका २ का बिजय चौधरी, सोही नगरपालिका ८ का रोबिन राजबंशी, सन्त लिम्बु, प्रकाश न्यौपाने, बाह्रदशी गाउँपालिका ७ का बिनोद मुर्मु, ६ का करण चौधरी, कमल ंगाउँपालिका ४ का केशव श्रेष्ठ, शिवसताक्षी नगरपालिका १ का किरण भण्डारी, ५ का रमेश ताजपुरीया र सोही स्थानका प्रेमबहादुर रिमाललाई पक्राउ गरेको जनाएको छ ।
यसैगरी, इलामको चुलाचुली गाउँपालिका. २ का सन्त श्रेष्ठ, शिवसताक्षी, दमक ४ का बसन राई र कमल गाउँपालिका १ का रामु दमाईलाई पक्राउ गरिएको मैनालीले जानकारी दिए । झापामा मोटरसाइकल चोरीको घटना बढेपछि प्रहरीले बढाएको सक्रियतासँगै छोटो समयमा संलग्न पक्राउ गर्न सफल भएको भनाई उनको छ ।