बिर्तामोड ।  गत बैशाखमा झापको कनकाई माईमा प्रेसर कुकर बम राखेर आतंक श्रृजना गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हल्दीबारी गाउँपालिका वडा नं. ७ भुल्का घर भएका दिपेश न्यौपाने, दमक नगरपालिका वडा नं. १ का संजय खरेल भन्ने खगेन्द्र खरेल, संखुवासभाको खाँदबारी नगरपालिका ८ हिंगुवा घर भई मोरङको सुन्दर हरैचा नगरपालिका ७ दुलारी बस्ने कमल कोईराला भन्ने लालमणी कर्णखर कोईरालालाई पक्राउ गरेको छ । यसैगरी शिवसताक्षी १० सैनिकवस्तीका चौहान साईला भन्ने रामचन्द्र चौहान र मोरङको उर्लाबारी नगरपालिका १ झारसादी टोलका मनिष माझीलाई पक्राउ गरेको डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रहरीले न्यौपानेलाई बैशाख २९ गते, खरेल, कोइराला र चौहानलाई लाई ३० गते र माझीलाई जेठ १ गते छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको जनाएको छ । उनीहरुले बिहान ४ बजेको समयमा मुख्य सडकको डिभाइडरमा प्रेसर कुकरमा घडी जडान गरी, दुइवटा तार समेत निकालेर जनमानसमा आतंक श्रृजना गरेको प्रहरीले जनाएको छ ।

सडकमा बम फेला परेको भन्ने खबर सार्वजनिक भएपछि नेपाली सेनाको टोलीले सो बम डिस्पोज गरेको थियो । प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसंधान गरी कारवाही भई रहेको जनाएको छ ।