विराटनगर । मोरङको लेटाङ नगरपालिका–५ घर भइ काठमाण्डौंस्थित टोखामा बस्दै आएका ५० वर्षीय कूलबहादुर लिम्बूले वैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक इजरायल पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगि गरेको खुलसा भएको छ । सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङसँगको मिलेमतोमा आफन्त र छिमेकी गरि लिम्बुले १४ जनालाई इजरायल पठाइदिने भन्दै १९ लाख ८० हजार रुपैयाँ ठगी गरेको खुलेको हो ।
कूलबहादुरले १४ जनासँग प्रति व्यक्ति १ लाखदेखि २ लाख ८० हजार रुपैयाँसम्म ठगी गरेको श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद संञ्जेलले बताए ।
ठगिनेमा लेटाङ–३ का हर्कबहादुर लिम्बू, लेटाङ–५ का खड्गबहादुर सुब्बा, सोही ठाउँका रामबहादुर मगर, गोपाल चेम्जोङ, सजेन्द्र बोहरा, दुर्गा बोहरा, कृष्णबहादुर मगर, प्रदीप लिम्बू, जीतबहादुर राई, लेटाङ–६ का गंगाराम थापा, लेटाङ–८ की सपना राई, लेटाङ–९ का रुद्र लिम्बू, धनबहादुर लिम्बू र सुमन लिम्बू रहेका छन् ।
कूलबहादुरले २०७५ साल असार मसान्तसम्ममा सबै जनालाई पर्यटक भीषामा इजरायल पठाइसक्ने र पठाउन नसके तत्काल पैसा फिर्ता दिने भनेर कागज पनि गरेका छन् । पुरुष तथा महिलालाई जान सहज हुने विमानस्थल प्रयोग गरेर इजरायल पुगेपछि श्रम गर्न पाउने वर्कपरमिट भीषाको व्यवस्था मिलाइदिने कागजमा उल्लेख छ ।
इजरायल पुगेपछि कूलबहादुरलाई प्रति व्यक्ति ८ लाख रुपैयाँ बुझाउनु पर्ने भनेर गरिएको कागजमा पीडित युवा, युवती तथा कूलबहादुरको हस्ताक्षर र औंठा छाप छ ।
पीडित मध्येका गंगाराम थापाले राम्रो कमाई हुने र नियमपूर्वक रुपमै जान पाउने भन्दै प्रलोभनमा पारेर आफूसँग कूलबहादुरले १ लाख रुपैयाँ कागज गरेरै लिएको बताए । ‘अझै पनि इजरायल पठाइदिन्छु कहीं पनि उजुरी नगर्नु भनेर भनिरहेका छन्,’ उनले भने, ‘हामीले पैसा माग्दा फिर्ता दिन मानिरहेका छैनन् ।’ सुरुमा विश्वासका भरमा पैसा दिएको र केही समयपछि कागज नै गरिएको थापाले बताए ।
अर्का पीडित एवं नातामा भतिज पर्ने खड्गबहादुरले नेपालबाट सम्भव नभएको भन्दै आफूहरुलाई भारतसम्म लगेर त्यहाँबाट अवैध बाटो हुँदै इजरायल पठाउन पनि खोजिएको बताए । ‘एक वर्ष अघि हामीलाई भारतसम्म पुर्याएर स्वास्थ्य परीक्षण पनि गरियो,’ उनले भने, ‘त्यहाँबाट पनि पठाउन सकिएन भन्दै फर्काइयो ।’
कूलबहादुरले केही व्यक्तिहरुले राहदानी अझै पनि आफ्नै कब्जामा राखेको उनको भनाइ छ । पीडितहरूले लिम्बुबाट ठगिएको थाहापाएपछि विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा उजुरी गरेका हुन् ।
पीडितहरुले पैसा फिर्ता पाउनु पर्ने र दोषीमाथि कारबाही हुनु पर्ने माग राखेर भन्दै १९ लाख ८० हजार विगो माग दावीसहितको उजुरी श्रम कार्यालयमा दर्ता गरेका हुन् ।
उजुरीकै आधारमा श्रम कार्यालयले पक्राउ पूर्जी जारी गरेपछि महानगरीय प्रहरी परिषर टेकुले कूलबहादुरलाई काठमाडौंबाट पक्राउ गरेर विराटनगर ल्याएको थियो ।