विराटनगर/ प्रहरीले सोमबार राति विराटनगस्थित रोडशेष चौकबाट भारतर्फ जाँदै गरेको काँचो चाँदी ठूलो परिमाणमा बरामद गर्यो ।
विशेष सूचनाको आधारमा मोरङ प्रहरी र वडा प्रहरी कार्यालय विराटनगरको खटिएको प्रहरी टोलीले ३६ लाख ९९ हजार ६ सय ३० रुपैयाँ मूल्य बराबरको ५९ केजी ९ सय ३४ ग्राम चाँदीसहित भारत अररिया जोगवनी–१६ का २४ वर्षीय गौरवकुमार साहलाई पक्राउ गरेको थियो । गत असार तेस्रो साता भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १९ तोला तयारी चाँदीसहित भारत अररिया जमुवा ग्रामपञ्चायतका राजकुमार साह पक्राउ परेका थिए । साह पक्राउ परेको दश दिन बित्न नपाउँदै पुनः ४० तोला विभिन्न सामग्री बनाएको तयारी चाँदीसहित भारतीय नागरिक मृत्युञ्जय पाठक पक्राउ परेका थिए ।
उल्लेखित घटना र अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार चाँदी तस्करले काँचो चाँदी अवैध रूपमा भारतर्फ पठाउने र कलात्मक रूपमा विभिन्न सामग्री बनाएर नेपाल भित्र्याउने क्रममा प्रहरीले बरामद गरेकोले पनि पुष्टि गरेको छ ।
तस्करहरूले नेपालबाट पठाएको काँचो चाँदी भारतमा तयारी गरहगना बनाएर नेपाल ल्याउँदा प्रतिकेजी १५ हजारदेखि २० हजार रुपैयाँसम्म फाइदा लिने गरेको स्रोतको दाबी छ । नेपालमा भन्दा भारतमा विभिन्न सामग्री बनाएर तयार पारेको चाँदीका गहनाहरूको ज्याला कम पर्ने र भनेको बेलामा चाँडो तयारी हुने भएकोले भारतबाट नेपालमा चाँदी तस्करी हुने गरेको प्रहरी अधिकारीहरू पनि बताउँदै आएका छन् ।
भारतमा चाँदीको गरगहना बनाउँदा ज्याला नेपालमाभन्दा ३ देखि ४ चार सयसम्म तोलामा सस्तो हुने र डिजाइनसमेत राम्रो हुने गरेको छ । चाँदीको कलात्मकशैलीका विभिन्न सामग्री भारतमा चाँडो तयार हुने भएकोले तस्करीमा संलग्नहरूले काँचो चाँदी खरिद गरी तयारी सामग्री बनाएर भित्राउने गरेको स्रोतको दाबी छ ।
तस्करहरूले नेपाल बाट पठाएको चाँदीमा धातुहरू मिसावट पनि गरेर विभिन्न गरगहना बनाई ल्याउने गरेको जानकारहरू बताउँछन् । स्रोतका अनुसार चाँदीमा आधाजस्तो अन्य धातु मिसावट गरी विभिन्न सामग्री बनाउने गरेका छन् । विराटनगरमा सबैभन्दा बढी चाँदीको कारोबार गर्ने केही व्यापारीले काँचो चाँदी लुकाई छिपाई भारत पु¥याउने र आकर्षक गरगहना बनाएर अवैधरूपमा नेपाल ल्याउने गरेका छन् । सोही सिलसिलामा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले सोमबार राति ठूलो परिमाणको चाँदी बरामद गरेको हो ।
खुल्ला सीमाको फाइदा उठाउँदै चाँदीको अवैध कारोबार गर्ने गिरोह सक्रिय रहेकाले उनीहरूलाई नियन्त्रण गर्न मोरङ प्रहरी सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले बताए । ‘ठूलो परिमाणमा अवैधरूपमा भारततर्फ काँचो चाँदी तस्करी हुँदै गरेको प्रहरीलाई सूचनालाई आएको थियो’ एसपी अधिकारीले भने, ‘विशेष सूचनाको आधारमा प्रहरीले अवैध चाँदी र तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरेका छौं ।’