विराटनगर /  विराटनगर महानगरपालिकाबाट करिब ६० किलो चाँदीसहित एक भारतीय पक्राउ परेका छन् । हिजो साँझ महानगरको वडा नम्बर ९ रोडशेष चोकबाट भारत जोगबनी घर भएका २३ वर्षीय गौरव साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले पक्राउको पुष्टि गर्दै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरी स्रोतका अनुसार नेपालबाट भारततर्फ गाडीमा राखेर लैजाँदै गर्दा प्रहरीको विशेष टोलीले चाँदीसहित साहलाई पक्राउ गरेको हो । भारतीय नम्बर प्लेट बीआर ११ एके १७९१ को कारमा हालेर उक्त परिमाणको चाँदी भारत लगिँदै थियो । प्रहरी कन्ट्रोल रुममा निलो रङको कारमा चाँदी तस्करी गरेर भारत लगिँदै गरेको सूचना आएपछि प्रहरीले चेकजाँच कडा बनाई कारलाई ’फलो’ गरेको थियो । स्रोतका अनुसार पक्राउ परेका साह गाडीका चालकमात्र हुन् ।