विराटनगर /  मापद पद्धार्थ सेवन (मापसे) गरि सवारी दुर्घटनामा पारि मृत्यु गराएकोे आरोप लगाउँदै टेम्पु चालकहरू प्रर्दशनमा उत्रिएका छन् । शनिबार राती विराटनगरमा भएको सडक दुर्घटनामा एक युवाको मृत्यु भए पछि दुर्घटना गराउनेलाई कारवाहीको माग गर्दै विराटनगरका टेम्पु चालकहरु आइतबार प्रदर्शनमा उत्रिएका हुन् ।
मृतक टेम्पु चालक रहेकाले दुर्घटना गराउनेलाई कारवाहीको मागगर्दै चालकहरु धर्ना प्रर्दशनमा उत्रिए । प्रदर्शनमा उत्रिएका टेम्पु चालक र मृतकका आफ्न्तले स्थानिय बरगाछी चोकमा केहिबेर चक्का जाम गर्नुका साथै जिल्ला प्रहरी कार्यालय मोरङ छेउको सडकमा टेम्पु राखेर धर्नामा बसेका थिए।
विराटनगरको बरगाछीमा भएको दुर्घटनामा विराटनगर–१२ बखरीका १९ बर्षीय शंकरकुमार मिश्रको मृत्यु भएको थियो । को ३५ प ५६३४ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनलाई बा २० च ७४० नम्बरको किया कम्पनीको कारले पछाडीबाट ठक्कर दिएको मृतकका आफ्न्तले बताएका छन् ।
बरगाछी उत्तरबाट दक्षिणतर्फ आउदै गरेका मिश्रलाई सोहि दिसाबाट तीब्र गतिमा आएको कारले ठक्कर दिएर घिसारेर लगेको मृतका दाजु रामकुमार मिश्रले जानकारी दिए । रातको पौने ११ बजे ठक्कर दिएर दक्षिणतर्फ फरार भएको दुर्घटना गराउने कार १ घन्टा पछि विराटनगर–६ भट्टीमोड पश्चिमस्थित एक घरमा लुकाई राखेको अवस्थामा फेला परेको उनको भनाई छ । बिराटनगरकै किरण लामाको नाममा रहेको सो कार लामा आफैले चलाएको मृतक पक्षको दाबी छ । लामाले मापसे गरेर तीब्रगतिमा कार चलाएका कारण दुर्घटना भएको मृतक पक्षले दाबी गरेको हो । मिश्रले दुर्घटना गराउनेलाई अविलम्ब नियन्त्रणमा लिएर कडा कारवाही गर्नुपर्ने माग गरेका छन । मोरङ प्रहरीले भने यस विषयमा अनुसन्धान भइरहेको बताएको छ ।
लामा दमकका केही युवाहरु सहित विराटनगर एयरपोर्ट मोडमा बसेका थिए । उनले होटलमा २९ हजार रुपैयाँको बिल उठेको प्रहरीले बताएको छ । ठक्करबाट गम्भिर घाइते भएका शंकरलाई उपचारकालागि विराट नर्सिङहोम भर्ना गरिएको थियो । तर अस्पतालले राति नै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
घटना पछि फरार रहेको लामाको खोजी भइरहेको उनले बताए । श्रेष्ठका अनुसार ठक्करपछि कार लिएर भागेका लामाको कार भने विराटनगर – ६ स्थीत आफ्नो घरमै लुकाएका थिए । प्रहरीले राति करिब २ बजे उनको घरमा लुकाएर राखेको अवस्थामा कार नियन्त्रणमा लिएको थियो । फरार रहेका लामाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
लामाको खोजी गरिरहेको प्रहरीले उनका भाईलाई पक्राउ गरेको छ । शनिवार राति लामाको खोजी गर्दै विराटनगर– ६ स्थीति घर पुगेको प्रहरी टोलीलाई अवरोध गरेपछि प्रहरीले लामाको नाताले भाई पर्ने मेलिस लामालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।