विराटनगर/ मोरङमा ६ महिनाको अवधिमा ८५ वटा मानवअधिकारको घटना घटेका मध्ये ८९ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा (इन्सेक) १ नम्बर प्रदेश कार्यालय विराटनगरले सार्वजानिक गरेको अभिलेखअनुसार सन् २०२० जनवरीदेखि जुनसम्ममा ८९ जना पीडित भएको जानकारी दिएको छ ।
इन्सेक विराटनगरले एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको प्रतिवेदन–अनुसार जिल्लामा सबैभन्दा बढी बलत्कार घटना रहेका छन् । ६ महिनाको अवधिमा ३३ वटा बलत्कार घटना भएको इन्सेकको मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईले जानकारी दिइन् ।
जसमा १३ महिला र १३ जना किशोरी बलत्कारको शिकार हुनुपरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै ६ महिनामा एक बालिका र एक महिला गरी २ जनाको हत्या भएको छ । कुटपिट ६, हत्याको प्रयास ६, घरेलु हिंसा ५, बलात्कार प्रयास १६, बहुविवाह ५, मानव बेचबिखन ४, नवजात शिशु हत्या १ जनाको भएको छ । यसै गरी बोक्सीको आरोप २ जना, तोडफोड १, बालश्रम १, जातीय विभेद १, अमानवीय व्यवहार १ जनाको भएको प्रतिवेदनमा उल्लेख छ ।
पीडित हुनेहरूमा बलात्कारमा परेका महिला तथा बालिका धेरै रहेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्रले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि अभिलेख घटना सार्वजनिक गर्दै बलात्कारका ३३ घटनामा २० बालिका र १३ जनामहिलाहरू पीडितभएको उल्लेख गरिएको छ ।
गत वर्ष १ सय ३५ वटा घटना भएकामा १ सय ७१ जना पीडित भएको जिल्ला प्रतिनिधि भट्टराईले जानकारी दिइन् । गत वर्ष पनि सबैभन्दा बढी बलत्कार घटना भएका थिए ।
वर्ष पुस्तक पूर्व समीक्षा कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका प्रमुख मोहनदेव जोशीले नागरिक तथा राजनीतिक अधिकारका साथसाथै उपभोक्ता अधिकारको संरक्षणका मुद्दालाई समेत मानव अधिकारका दृष्टिकोणले उठाउनुपर्ने आवश्यकता रहेको बताए । उपभोक्ताको अधिकार संरक्षणका लागि अधिकारका क्षेत्रमा क्रियाशील सङ्घ–संस्थासँगै राजनीतिक अभियानकर्मीको पनि पहल हुन आवश्यक रहेको उनले बताए ।
नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले पत्रकारहरूसमेत मानव अधिकार कर्मीकै रूपमा काम गर्ने भएकाले अधिकारवादी सङ्घ, संस्था र पत्रकारहरूबीच समन्वय आवश्यक रहेको बताए । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्रका प्रदेश कार्यालयका प्रमुख सोमराज थापाले राज्यबाट हुने मानव अधिकार उल्लङ्घनका घटनालाई आमसञ्चार क्षेत्रले खबरदारी गर्नुपर्ने बताए । उनले सबैको पहलमा मात्रै नागरिकको मानव अधिकार सुनिश्चित गर्न सकिने बताए ।