बिर्तामोड । झापा प्रहरीले झापाको बिभिन्न स्थानबाट चोरी भएको चार थान मोटरसाइकल सहित त्यसमा संलग्न चारजनालाई पक्राउ गरेको छ ।

झापाको बिर्तामोड, दमक र माइधारबाट चोरी भएको चार थान मोटरसाइकल सहित चारजनालाई शिवगञ्जबाट पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा गौरादहका विजय चौधरी, डाँगिवारीका करण चौधरी, सोही स्थानका रोविन चौधरी र विनोद मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनीहरुको समुहले ह्याण्डिल लक गरेर राखेको अवस्थामा मोटरसाइकल चोर्ने गरेको पाइएको उनले बताए । चोरीमा संलग्न चारैजनालाई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसंधान भइरहेको श्रेष्ठले बताए ।