धनकुटा / छथरजोरपाटी गाउँपालिका वडा नं.२ जोरपाटीस्थित सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक यशुन ओझाको कुटपिटबाट तीन छात्रा घाइते भएका छन् ।
प्लाष्टिकको पाइपले शिक्षक ओझाले कुटपिट गर्दा कक्षा–१० मा अध्ययनरत चन्द्रकला मगर, विभुति सुब्बा र अस्मिता मगर घाइते भएका ह्न् । उनीहरुलाई बुधबार कुटपिट गरेका थिए । कक्षा कोठमा विज्ञान विषयको प्रश्न सोध्ने क्रममा उत्तर नदिएपछि ३ छात्रालाई शिक्षक ओझाले शरिरको विभिन्न भागमा जथाभावि कुटपिट गरिएको पीडित छात्राहरुले बताए । कुटपिटबाट छात्राहरुको पिडुला, हात र पिठ्युमा निलडाम बसेको छ । प्लाष्टिकको पाइपले कुटपिट गर्न थालेपछि आफुलाई उत्तर आए पनि त्रासाले बिर्सिएको घाइते छात्रा विभुतिले बताइन् । ओझाले विगत देखिनै छात्र–छात्राहरुलाई कुटपिट गर्ने गरेको पिडित विद्यार्थीहरुले बताएका छन् ।
शिक्षक ओझाको कुटाईको कारण दुखाईले गर्दा राति निधाउन पनि नसकेको अभिभावक गीताले बताइन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो । शरिरको तस्विर लिन नमिल्ने स्थानहरुमा पनि ति शिक्षकले छात्राहरुलाई कुटेको पाइएको उनीहरुका अभिभावकले बताएका छन् ।
विहिवार विद्यालयमा पुगेका घाइते छात्राका अभिभावकले कुटपिटमा संलग्न शिक्षक ओझालाई लिखित रुपमा कारवाहीको माग गरे । शिक्षकलाई निस्कासन, उपचार खर्च व्यहोर्नु पर्नेलगायतका माग अघि सारेका छन् । विद्यालय प्रशासन, व्यवस्थापन समिति र घाइते विद्यार्थीका अभिभावकबिच छलफल गरिए पनि निष्कर्षमा पुग्न सकेको छैन ।
घटनाबारे विद्यालयका प्रिन्सिपल साधना भुजेलले पढ्न कमजोर विद्यार्थीलाई नीजि स्कुलले डरत्रास देखाउनुलाई सामान्य रहेको जवाफ दिइन ।