लक्ष्मीमार्ग/ बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जनयुद्ध प्रतिष्ठान नेपाललाई ८ बिघा जग्गा दिने घोषणा गरेका छन् । उनले बेलबारी बजारनजिकै रहेको उक्त जग्गा दिने घोषणा गरेका हुन् ।
जनयुद्ध प्रतिष्ठान नेपाललाई बेलबारीले जग्गा उपलब्ध गराए विभिन्न कालखण्डमा भएका जनयुद्धलाई समेटेर सङ्ग्रहालय, शैक्षिक गतविधि, स्वास्थ्यसम्बन्धी गतिविधि, पार्क तथा अन्य रोजगारमूलक कार्यक्रम गर्ने भनी पत्र पठाएपछि मेयर सुवेदीले आफ्नै जग्गा दिने घोषणा गरेका हुन् ।
बेलबारी नगर कार्यपालिकाको जेठ ३० गतेको बैठकमा उनले जग्गा दिने घोषणा नै गरेका छन् । कार्यपालिकाको बैठकले मेयर सुवेदीले गरेको काम प्रशंसायोग्य भन्दै निर्णय नै गरिएको नगरपालिका प्रवक्ता योगेन्द्र सुवेदीले बताए । उक्त जग्गाको मूल्य हाल ८ करोड पर्ने बताइएको छ ।
‘हामी समृद्ध बेलबारीको योजना अगाडि बढाइरहेका छौं’ मेयर सुवेदीले भने, ‘त्यसका लागि जग्गा दिएको हुँ ।’ आफ्नो गाउँ बनाउनका लागि जग्गा दिएको उनले बताए । ‘समृद्धिको सपना देख्नेले अरुबाट भन्दा पनि आफूबाटै त्यो यात्रा थाल्नुपर्छ’ –मेयर सुवेदीले भने । विकासका लागि जहिल्यै पनि लागिपर्ने उनले बताए । बेलबारीमा सरकारी तथा अन्य कार्यालय ल्याउँदा ठूलो सङ्घर्ष गरेको सम्झँदै उनले भने, ‘अहिले त्यस्तो छैन ।’ उक्त जग्गा प्राप्त भएपछि यस आर्थिक वर्षमै डिपिआर तयार गरी केही कामको थालनी गर्ने जनयुद्ध प्रतिष्ठान नेपालका अध्यक्ष सावित्रीकुमार काफ्लेले बताए ।
‘सङ्घीय, प्रदेश तथा स्थानीय सरकारसँग छलफल भइरहेको छ’ अध्यक्ष काफ्लेले भने, ‘बेलबारीको स्थानीय सरकारको प्रमुखले जग्गा नै दिनुभयो ।’ उनले बजारको नजिकै उक्त जग्गा प्राप्त भएकाले गरिबी निवारणका कार्यक्रम गर्नसमेत सकिने बताए । सुवेदी बेलबारीको मेयर हुनुभन्दा अगाडिदेखि नै बेलबारीको फोहोर फाल्ने डम्पिङसाइडसमेत उनकै जग्गामा छ । सुवेदी तत्कालीन जिल्ला विकास समितिमा दुई कार्यकाल सदस्य हुँदै २०७४ सालको स्थानीय तहको चुनावमा मेयर पदमा निर्वाचित भएका हुन् ।
































