वराहक्षेत्र / स्थानीयवासीबीच असहमति हुँदा वराहक्षेत्र नगरपालिका वडानम्बर १ को कार्यालय भवन निर्माण कार्य अन्योलमा परेको छ । वडा कार्यालयले वडाको भवन खारखोलामा बनाउने भएपछि स्थानीयबीच विवाद उत्पन्न भएको हो ।
वडाअध्यक्ष सुरेश श्रेष्ठले आफ्नै घरनजिक वडा कार्यालय बनाउन खोजेको भन्दै चतरा र भण्डारीटारका स्थानीयले त्यसको विरोध गरेका हुन् । वडाध्यक्ष श्रेष्ठले कुनै छलफल र सरसल्लाह नगरेको स्थानीय दिनेश राईले बताए । कार्यालयको लागि उपयुक्त स्थानको अध्ययन नगरी खारखोलामा राख्न लागिएको भन्दै स्थनीयले वराहक्षेत्र नपामा निवेदन दिएका छन् । चुनावका बेला वडाअध्यक्ष श्रेष्ठले चतरामा वडाकार्यालय राख्ने बताए पनि अहिले आफ्नै घरछेउ एकलौटी निर्णय गरेको स्थानीयको आरोप छ ।
यता वडाध्यक्ष श्रेष्ठले भने ५ महिनाअघि नै खारखोलामा वडाकार्यालय राख्ने सूचना जारी गरिएको र कार्यालयको विषयमा छलफल गर्न आह्वान गरिएको थियो तर कोही पनि कुरा गर्न नआएको बताए । उनले अहिले केही व्यक्तिको निजी स्वार्थले अनावश्यक विवाद उत्पन्न गरेको बताए । उनले भने, ‘तपाईहरू वडा कार्यालयको विकल्प दिनुहोस् भन्दा पनि नसक्ने, चासो नदेखाउने तर अहिले भवन निर्माणको काम अगाडि बढाइएपछि विरोध गर्नु गलत हो ।’ वराहक्षेत्र नपाको कार्यपालिकाले निर्णय गरी भवनको लागि ११ लाख रुपैयाँ विनियोजनसमेत गरिसकेको वडाध्यक्ष श्रेष्ठले बताए ।
यसअघि पनि यसैगरी विवाद हुँदा भवनको बजेट फ्रिज भएको थियो । वडा कार्यालयको लागि स्थानीय भीम श्रेष्ठले निःशुल्क १० कठ्ठा जग्गा दान दिएका छन् भने त्यसैको उत्तरमा शिव श्रेष्ठले पनि ट्राफिक बिटको लागि निःशुल्क ३ कठ्ठा उपलब्ध गराएका छन् । अहिले त्यस जग्गामा माटो सम्याउने काम भइरहेको श्रेष्ठले बताए । सो क्षेत्रमा कवर्डहल र स्थानीय सञ्चारकर्मीको लागि मिडिया सेण्टर खोल्न जग्गासमेत उपलब्ध गराइने वडाध्यक्षले जानकारी दिए ।
वडा कार्यालयको विरोधमा चतराका स्थानीय गणेश सुब्बा विरहीलगायत एक सय पचासजनाको हस्ताक्षर भएको निवेदन नगरपालिकामा बुझाएको स्थानीयले बताए । निवेदनपछि नगरपालिकाको कार्यालयमा भएको दुवै पक्षको छलफल निष्कर्षविहीन बनेको थियो । त्यसलगत्तै वडा कार्यालय खारखोलामै बन्नुपर्ने भन्दै १५ सयको हस्ताक्षर भएको माग पत्र आइतबार नगरपालिकालाई बुझाउने कार्यक्रम रहेको वडाध्यक्ष श्रेष्ठले बताए । हाल वडा १ को कार्यालय, वडा नम्बर २ सँगै संयुक्त हाटखोलामा रहेको छ ।
































