उर्लाबारी/ दैनिक नगरपालिकाको कार्यक्रममा व्यस्त हुने उर्लाबारीका नगर प्रमुख खड्ग फागो बुधबार फरक कार्यक्रममा देखा परे ।
प्रचण्ड गर्मीको प्रवाह नगरी धान खेतमा धान रोप्न व्यस्त बने । हिलाम्मे खेतमा मेसिनबाट धान रोप्दै गरेको भेटिए । उनको फोटो लिने र रमिते कृषकको सङ्ख्या पनि निकै बढेका थिए । उर्लाबारी–९, रानाटोलमा कृषकहरूसँग कृषकका समस्या र नगरपालिकाले गर्न सक्ने सहयोगका विषयमा भलाकुसारी गर्दै उनी कृषकका खेतमा आफैं मेसिन चलाएर धानको बीउ रोप्दै थिए । राना टोलमा उर्लाबारी नगरपालिकाले कृषकहरूलाई उपलब्ध गराएको धानको बीउ रोप्ने मेसिन मेयर फागोले आफैं परीक्षण गरेका हुन् ।
उर्लाबारीमा पहिलो पटक मेसिनबाट धान रोप्न शुरु भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि ७० लाख मूल्य बराबरको विभिन्न कृषि सामग्रीहरू कृषकलाई सहयोग गरेको छ । मेयर फागोले परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषिमा रूपान्तरण गर्न नगरपालिकाले गत आर्थिक वर्षदेखि कृषकलाई सहयोग स्वरूप कृषि प्रयोजनका विभिन्न सामग्री प्रदान गर्दै आएको बताउँदै नगरपालिकाले कृषि क्षेत्रमा गरेको सहयोग प्रभावकारी भएको बताएका छन् । मेयर फागोले विगतका वर्षहरूभन्दा चालु वर्षमा कृषकहरूले उब्जनीसमेत वृद्धि गरेको बताउँदै नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार कृषकहरूलाई बितरण गरेकोे बताएका छन् ।
मेयर फागोले आफू पनि कृषक भएको र कृषकको समस्याका विषयमा जानकार भएको बताउँदै समृद्ध उर्लाबारी बनाउन कृषकहरूसँग नगरपालिकाले सहकार्य गर्ने र आगामी वर्ष मापदण्डमा रही कृषिक्षेत्रको बजेट वृद्धि गर्ने बताएका छन् । धान रोप्ने मेसिनले १ घण्टामा १४ कठ्ठासम्म रोप्ने गरेको छ । मेसिनबाट धान रोप्न सहज भएको र खेताला अभाव झेल्नु पर्ने समस्याको अन्त्य भएको स्थानीय कृषकले बताएका छन् ।
मेसिनबाट छिटो र सुविधायुक्त तरिकाले धान रोप्न सकिने स्थानीय नरबहादुर मोक्तानले बताएका छन् । नगरक्षेत्रमा नगरपालिकाले धान रोप्ने मेसिन एकथान, मकै छोडाउने मेसिन १० थान, मकै रोप्ने मेसिन १० थान, पानी तान्ने मोटर ४० थान, प्लेट दाना बनाउने मेसिन दुई थान, मौरीको घार एक सय थान, मह जाल १० थान, एरिएटर १० थान, महमदानी छ थान र फेरोमेन ट्याब एक हजार थान वितरण गरिएको नगरपालिकाका कृषि प्राविधिक सहायक अम्बिकाप्रसाद लुइँटेलले बताए ।
































