भण्टाबारी/ सुनसरीको भण्टाबारी नाका हुँदै भारतमा बेचिन लागेका २ जना महिलाको उद्धार गरिएको छ । घरको काममा लगाइदिन्छु भन्दै भारतको दिल्लीमा बेच्न लाँदै गरेको अवस्थामा भारतीय एसएसबीको सहयोगमा सीमा सशस्त्र प्रहरी बल भण्टाबारी र मानव अधिकारकर्मीको संयुक्त टोलीले २ जना नेपाली महिलाको उद्धार गरेको हो ।
फोन सम्पर्कमार्फत् चिनजान गरी २ जना महिलासँगै दिल्ली जान तयारी अवस्थामा भएको बखत एक दलाललाई नियन्त्रण लिएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।
इटहरीबाट २ जना महिला र एकजना दलालसँगै अर्का एकजना पुरुषले भण्टाबारी नाका हुँदै भीमनगरबाट दिल्ली जान बसमा चढ्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको बिओपी भण्टाबारीका सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।
दिल्लीमा घरको काममा लगाइदिन्छु भन्ने प्रलोभन देखाई मोरङ बिराटचौक नगरपालिका–१० बस्ने २३ वर्षीया शेषकुमारी अधिकारीले मोरङ पथरी नगरपालिका–१ की ३५ वर्षीया कोपिला पोखरेल र बुटवल महानगरपालिका–६ रुपन्देही स्थायी घर भई हाल काठमाडौं कपन बस्दै आएकी ३४ वर्षीया कुन्ती ठकुरी लाई बेचबिखन गर्न लाँदै गर्दा उनीहरूको उद्धार गरिएको मानवअधिकारकर्मी शिवेन्द्र कर्णले जानकारी दिए ।
बेचबिखन गर्ने उद्देश्यले ती महिलाहरूलाई भारततर्फ लैजाँदै गरेको जानकारी पाएपछि उनीहरूलाई भारतीय एसएसबीका इन्स्पेक्टर घनश्याम पासवान नेतृत्वको सहयोगमा सशस्त्र प्रहरीसहित उद्धार गरेको कर्णले बताए ।
भारतमा उद्धार गरिएकोले आवश्यक कानूनी प्रक्रिया पु¥याई उनीहरूलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाउने बिओपी भण्टाबारीका सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए । काठमाडौं र इनरुवाका दलालहरूमार्फत् शेषकुमारी अधिकारीको सम्पर्कमा ती २ जना महिला आएको उनले बताए ।
इनरुवादेखि भारतको भीमनगरसम्म उनीहरूलाई पुर्याउने एकजना पुरुष भागेको भण्डारीले बताए । उद्धार गरिएका महिलाद्वयले आफूहरूले कसैलाई नचिनेको र काममा लगाइदिने प्रलोभनमा भारतमा जान लागेको बयान दिएको भण्डारीले बताए ।
भीमनगरबाट उद्धार गरिएका ती दुवै महिला श्रीमान्सँग अलग्गै बस्दै आएको बयान दिएका छन् । १ छोराकी आमा कोपिला अधिकारीले १६ वर्षदेखि श्रीमान्बाट अलग्गै बस्दै आएको र ३ छोरीकी आमा कुन्ती ठकुरीले १ वर्षअघि श्रीमान्सँग सम्बन्धविच्छेद गरेको भनी बयान दिएको सशस्त्र प्रहरी इन्स्पेक्टर भण्डारीले बताए ।