मोरङ /  प्रहरीले मोरङको विराटनगरबाट २ थान पेस्तोल र गोलीसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हतियारसहित भारत सितामढी ग्राम पञ्चायत थान बैरगनिया ७ घर बताउने अन्दाजी २० बर्षीय कुनाल कुमारलाई पक्राउ गरेको हाे ।  सोमवार राती ८:४० बजेको समयमा विराटनगर महानगरपालिका-९ मा रहेको एक होटलमा हतियारसहित बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गई चेकजाँच गर्ने क्रममा अटोमेटिक पेस्तोल थान-१, सोही पेस्तोलको म्याग्जिन थान-१, म्याग्जिनमा लोड भएको गोली ४ राउण्ड, कटुवा पेस्तोल थान-१, पेस्तोलमा लोड भएको गोली १ राउण्ड र निजले लगाएको पाइन्टको गोजीबाट कटुवा पेस्तोलमा लाग्ने ३ राउण्ड गोली बरामद गरेको थियो ।

हतियार सहित पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ ।