धरान । विवाहको आश्वासन दिएर जवर्जस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको छ ।

विराटनगर–१२ घर भई विराटनगर १० डेरा गरी बस्ने विवेक भनिने दिव्य पौदारलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । उनले १६ वर्षीया एक बालिकालाई विहे गर्ने आश्वासन दिएर वैशाख १० गते करणी गरेका थिए । उनले आफ्नो कोठामा लगेर विवाह गर्छु भन्दै करणी गरेको पीडित परिवारको उजुरीको आधारमा पौदारलाई जेठ २३ गते पक्राउ गरिएको हो ।

उनलाई उनको डेराबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले जानकारी दिएको छ । पौदारले ८ वर्षअघि नै विवाह गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनलाई जिल्ला अदालत मोरङबाट जवरजस्ती करणी महल अन्तर्गत कारबाही अगाडि बढाइएको छ ।