यासोक, पाँचथर/ पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा जेठ ७ गते भएको हत्याकाण्ड एउटै व्यक्तिबाट भएको प्रहरीको निष्कर्ष छ । घटनाको दुई हप्ता बित्दा प्रहरीको अनुसन्धानले एउटै व्यक्तिको संलग्नता रहेको देखाएको हो । घटनाको प्रकृति र घाइतेको बयानका आधारमा एउटै व्यक्तिको संलग्नता रहेको प्रहरीको भनाइ छ ।
हत्याको आशङ्का गरिएका मृतक बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमको पनि मिक्लाजुङ –८ को जङ्गलमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । दुई परिवारका ९ जनाको विभत्स तरिकाले हत्या भएको थियो । घटनामा आशङ्का गरिएका मानबहादुरको पनि मृत अवस्थामा शव फेला परेपछि घटना रहस्यमय भएको थियो । तर अनुसन्धानमा खटिएको प्रहरीले मानबहादुरले नै हत्या गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख नरेन्द्र कुँवरले घटना एउटै व्यक्तिले घटाएको बताए । उनले प्रयोगशालाको प्रतिवेदन आउन बाँकी रहेकाले केही दिनमै घटनाबारे थप जानकारी हुने जनाए । घटनास्थलको सबुत र पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले रिपोर्ट आएपछि थप प्रष्ट हुने बताइएको छ । हालसम्मको अनुसन्धानबाट हत्यामा मानबहादुरको मात्रै संलग्नता रहेको कुँवरले बताए ।
बमबहादुरकी कान्छी छोरी मनकुमारी फियाक पति मानबहादुर माखिमलाई छोडेर माइती घरमा बस्दै आएकी थिइन् । उनीहरूबीच सम्बन्ध राम्रो नभएका कारण घटना मानबहादुरले नै घटाएको प्रहरीले जनाएको छ । प्रहरीले मानबहादुरको शवनजिकै रगत लत्पतिएको खुकुरी भेटेको थियो । सो समयदेखि नै हत्या मानबहादुरले नै गरेको प्रहरीले अनुमान गर्दै आएको छ । अनुसन्धानको लामो समय खर्चिएको प्रहरीले हत्याको आरोपी मानबहादुरलाई नै मान्दै आएको छ ।
‘एउटै व्यक्तिले गर्न सक्दैन’
मिक्लाजुङ गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष हस्तराज फियाक भने एउटै व्यक्ति ९ जनाको हत्यारा हुन नसक्ने जनाएका छन् । ‘डेढ किलोमिटरको दूरीमा रहेको ज्वाइँ–ससुराको वंश विनाश गर्ने गरी एउटै व्यक्तिले कसरी हत्या गर्छ ?’ –प्रश्न गर्दै उनले भने । हत्यामा अन्यको पनि संलग्नता हुनसक्ने भएकाले अझै छानबिनलाई तीव्र पार्नुपर्नेमा उनले जोड दिए ।
हत्यामा सामेल भएका भनिएका मानबहादुरको पनि रहस्यमय तरिकाले झुण्डिएको अवस्थमा शव फेला परेको थियो । स्थानीयले पनि एउटै व्यक्ति हत्यामा संलग्न नभएको भन्दै गहिरो छानबिन हुनुपर्ने बताउँदै आएका छन् ।
प्रहरीले सिसा काण्डलाई गहिरो छानबिन नगर्दा यस्तो घटना भएको जनप्रतिनिधिको आरोप छ । घटना घटेको लामो समयसम्म पनि स्थानीयको त्रास कायमै रहेको बेला प्रहरीको एक टोली घटनास्थलमा खटिँदै आएको छ ।