धनकुटा/ नेपाल मगर सङ्घका केन्द्रीय सदस्य छत्र घले मगरले नेपालमा लोतान्त्रिक गणतन्त्र आए पनि मगर समुदायले हकअधिकार पाउन नसकेको बताएका छन् ।

नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति धनकुटाको नवौं जिल्ला अधिवेशनको आइतबार उद्घाटन गर्दै मगरले यस्तो बताएका हुन् । उनले नेपालका मगरहरू संसारको जिउँदो इतिहास बोकेको भए पनि नेपालका शासकहरूले मगर समुदायमाथि जहिले पनि विभेद गर्ने गरेको गुनासो गरे । मगरले संस्कृति भाषाको विकासको लागि करोडौं रुपैयाँ लगानी गर्ने यो सरकारले मगर भाषाको विकासको लागि किन १ रुपैयाँ पनि दिँदैन भन्दै प्रश्न गरे । त्यसैले यो सरकार विभेदकारी छ ।

उनले मगर समुदायलाई शिक्षा, राजनीति र व्यापार लाग्न आग्रह गर्दै निजामती सेवामा प्रवेश गर्नको लागि पनि लोकसेवा तयारी कक्षाको तयारीको लागि युवापुस्तालाई विशेष जोड दिए । उनले राष्ट्र निर्माणमा योगदान पु¥याएका मगर समुदायको साँस्कृतिक पर्व बिदासमेत वर्तमान सरकारले कटौति गरेकोप्रति उनले आपत्ति रहेको बताए ।

त्यसैगरी १२ मगरातका भाषिक पूर्व केन्द्रीय उपाध्यक्ष सोम राना मगरले हिन्तावोधको कारणले मगर समुदाय अघि बढ्न नसकेको तर्क अघि सारे । छैठौं शताब्दीताका भारतका गुगलसम्राटको पालामा मुसलमानको आक्रमणबाट आजित भएर जोगिनको लागी शीरमा सिन्दुर वा रातो टीका लगाएर नेपाल पसेका हिन्दूहरूले मगरहरूको ऐतिहासिक मगरात स्वयतत्ता खत्तम पारेको रानाले आरोप लगाए । त्यसैगरी नेपाल आदिवासी जनजाति महासङ्घ धनकुटाका अध्यक्ष संजयसन्तोषी राईले पहिचानसहितको १० प्रदेश निर्माणको लागि नेपालका आदिवासी जनजातिहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । राईले अहिलेको ७ प्रदेशलाई बढाएर १० प्रदेश बनाउन सकेको खण्डमा पहिचान स्थापित हुने बताए ।

नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति, धनकुटाका अध्यक्ष जेवी घले मगरको अध्यक्षतमा सम्पन्न नवौं जिल्ला अधिवेशनको समुद्घाटन सत्रमा सङ्घका केन्द्रीय सदस्य गणेश पिठाकोटे मगर, सङ्घका जिल्ला सल्लाहकार इन्द्र सारु मगर, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नगेन्द्र राई, फोनिजका जिल्ला अध्यक्ष सन्तवीर लामा, नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष विष्णु मोक्तान, किरात याक्थुङ चुम्लुङका सचिव प्रेम तुम्वाहाङ्ग, मगर सङ्घका जिल्ला सल्लाहकार दिपक आले मगर, मगर युवा सङ्घका केन्द्रीय सदस्य कृष्ण गोविन्द मगर लगायतले शुभकामना राखेका थिए ।

सो अवसरमा कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका सचिव चेत राना मगरले गरेका थिए भने स्वागत मन्तव्य सहसचिव पदक राखल मगरले राखेका थिए । कार्यक्रममा जिल्लाको विभिन्न स्थानीय तहबाट सहभागी मगर कलाकारहरूले मगर संस्कृतिमा आधारित लोकनृत्य समेत प्रस्तुत गरेका थिए ।