इटहरी/ साँघुरो सडक र फुटपाथ अतिक्रमणले इटहरी उपमहानगरपालिका कुरुप हुँदैछ । व्यापारीहरूले सडकको दुवै किनारमा फुटपाथ अतिक्रमण गर्दा आवत–जावतमा समस्या हुने गरेको हो । इटहरी उपमहानगरपालिकाले बारम्बार कार्यपालिकाको बैठकमा फुटपाथको कुरा उठाए पनि नियन्त्रण गर्न नसक्दा इटहरीमा समस्या दिनानु दिन बढ्दो छ ।
सडकको किनारमा रहेको फुटपाथ पैदल यात्रुका लागि आवत–जावत गर्ने ठाउँ हो । तर, त्यो क्षेत्रलाई अहिले अधिकांश स्थानमा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्ने गरिएको पाइएको छ । त्यो सँगै मौसमअनुसारको फलफूल पसलेदेखि कपडा पसलेहरूले आफ्नै आँगनजस्तो सडक पेटी हडप्दै आएका छन् ।
फुटपाथ अतिक्रमण भइरहँदा इटहरी उपमहानगरपालिका र स्थानीय प्रशासन भने मौन देखिएका छन् । उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि फुटपाथ अतिक्रमण रोकिने आशा गरिए पनि उनीहरूले उल्टै व्यापारीलाई संरक्षण गर्ने गरेको स्थानीयको आरोप छ । ‘पैदल यात्री हिँड्नका लागि बनाइएको फुटपाथमा व्यापारीको सामान हुन्छ’ इटहरी चोकमा हिँडिरहेका पैदलयात्रु विनय बास्कोटाले भने, ‘बारम्बार कुरा उठाउँछन् तर कार्यान्वयन गर्दैनन् ।’
केही समय अघिदेखि नै उपमहानगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर फुटपाथ हटाउने प्रयास गरेको थियो । तर, अतिक्रमण गरेर व्यापार गर्दै आएकाहरूले नसुने झैं गर्ने गरेको इटहरीमा होटल व्यवसाय गर्दै आएका केशव गिरी बताउँछन् । सडक अतिक्रमण गरेर फुटपाथमा व्यापार गर्दा आवत–जावत गर्न समस्या हुने गरेको उनी बताउँछन् ।
पछिल्लो समयमा बढ्दो सवारी साधनको चाप, सडक क्षेत्रमा आवासीय क्षेत्रको विकास, पैदल यात्रु हिँड्ने छुट्टै व्यवस्था नहुनु, साइकल लेन नहुनु र जनसङ्ख्याको उच्च वृद्धिका कारण इटहरी सडक पैदल यात्रुका लागि बढी जोखिमपूर्ण बन्दै गएको हो । ‘गाडी पार्किङदेखि रिक्सा–ठेला, फुटपाथ पसल सडकमै राख्नेजस्ता कार्य दैनिक जसो बढ्दै छ’ इटहरीका मोवाईल पसल सञ्चालक दिलकुमार तामाङ भन्छन् ।
सडकको वरपर दुवै किनारामा सडक मिचेर भवन निर्माण गर्नेजस्ता समस्या पनि उस्तै छन् । सर्वसाधारणका लागि निर्माण गरिएको नगरको मुख्य सडकका पेटीलाई कब्जा गरेर पसलको सामान राख्ने, सडकपेटीमै चिया, फलफूल र तरकारी पसल राख्ने तथा मोटरसाइकल र साइकल समेत पार्किङ गरिएका कारण हिँडडुलमा समस्या हुँदै आएको बताउँछिन्, पैदलयात्री सविना खड्का । ‘अफिसबाट बेलुकाको समयमा घर जाँदा सडकपेटीबाट हिँडिसक्नु छैन’ –उनी भन्छिन् । इटहरीका मुख्य चोकहरूमा पानीपुरी, चटपटेजस्ता खानेकुरा ठेलागाडामा बेच्न राखिएको प्रशस्तै भेटिन्छ । तर सर्वसाधारण हिँड्ने सडक भने अतिक्रमण गरिरहँदा सरकारी निकाय चुइँक्क बोल्न सकेका छैनन् ।
गत साउन महिनामा इटहरी उपमहानगरपालिकाले गठन गरेको नगरक्षेत्रको ट्राफिक व्यवस्थापनसम्बन्धी प्रतिवेदनका आधारमा यातायातको व्यवस्थापन थलिएको थियो । वडानम्बर ६ का अध्यक्ष दीपक गौतमको संयोजकत्वमा गठित प्राविधिक, यातायात व्यवसायी, ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिको समितिले प्रतिवेदन तयार गरेको थियो । गत साउन ११ गते प्रतिवेदन तयार भए पनि बल्ल कार्यान्वयनको थालनी भएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताएकी छन् ।
































