भद्रपुर / विगत एक दशकयताबाट निर्माणाधीन पक्की पुल भत्किएको छ । झापाको मेचीनगर नगरपालिका १२ स्थित हडिया खोलामा ९ वर्ष अघिबाट निर्माण शुरु भएको पुल निर्माण कै चरणमा भत्किएको हो । केहीदिन अघि पुल ढलाई हुदै गरेको अवस्थामा भत्किएको निर्माण व्यवसायीले स्वीकारेका छन् ।
साँझ ढलानको कार्यमा ‘रेडी मिक्चर’ ले मसला खन्याउँदै गर्दा अचानक ‘फ्रेमिङ्ग’ भत्किएको सुपरभाइजर खगेन्द्र विष्टले बताए । यस्तो समस्या देखा परेपछि अब पुल सम्पन्न हुन लामो समय लाग्ने उनले जनाए ।
विकासमा कमिशनको खेलले गुणस्तरहीन कामले प्रोत्साहन पाइरहेको हडिया पुलले पुष्टि गरेको छ । लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको पुलको निर्माणमा समेत चरम लापरबाही भएको पाइएको छ ।
५ करोड ८७ लाख ५३ हजारको लागतमा मैनाचुली र लामा निर्माण कम्पनीले संयुक्त रूपमा निर्माण गरिरहेको सो पुल ९ वर्ष बितिसक्दा निर्माण सम्पन्न हुनुको साटो निर्माणाधीन अवस्थामा नै भत्किएपछि स्थानीय चिन्तीत बनेका छन् । वि.सं २०६७ सालमा २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु भएपनि ४ पटकको म्याद थप हुँदा समेत निर्माण कार्य सम्पन्न हुन नसकेको हो ।