राजविराज । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केका जङ्गली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन शुक्रबार मध्यराति प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।
रुपनी गाउँपालिकाको विभिन्न क्षेत्रमा जङ्गली हात्ती पस्न लागेको खबर पाएपछि पुगेको प्रहरी टोलीले गाउँलेलाई जोगाउन ४ राउण्ड हवाई फायर गरी जङ्गली हात्तीलाई धपाएको हो ।
राति सवा १२ बजेतिर कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको हात्तीको समूह आसपासका जङ्गल हुँदै गाउँमा प्रवेश गर्न लागेको खबर आएपछि पुगेको प्रहरी टोलीले ४ राउण्ड हवाई फायर गरी हात्तीलाई धपाएको प्रहरी निरीक्षक गुरु तिमिल्सिनाले बताए ।
स्थानीय जङ्गलमा हात्ती बस्ने र विशेषगरी रातको समयमा गाउँ पस्न थालेपछि रुपनी गाउँपालिकाका साथै कृष्णासवरण र कञ्चनरूप नगरपालिका बासिन्दा राम्ररी निदाउन पाएका छैनन् । हात्ती आतङ्कका कारण सो क्षेत्रका बासिन्दा घरबाट बाहिर निस्कन पनि डराउन थालेको स्थानीयवासी नर्मदेव यादवले बताए । कोशी टप्पु वन्यजन्तु आरक्षका हात्तीको आक्रमणमा जिल्लामा एक वर्षभित्र ६ जनाको ज्यान गइसकेको छ । यस अवधिमा हात्तीले ४८ घर भत्काएको छ भने सय बिघाभन्दा बढी जमिनमा लगाएको अन्नबाली नष्ट गरेको स्थानीय कृषक सीताराम चौधरीले बताए ।
बस्ती आसपास जङ्गल भएकाले र जङ्गली हात्तीको बासस्थान बन्ने गरेकोले पटक–पटक आक्रमणमा पर्ने गरेको भन्दै स्थानीयले यसको स्थायी समाधान खोज्नु पर्ने माग गरेका छन् ।
































