बिर्तामोडमा/ झापाको सुरुङ्गामा आफ्ना अनुयायीमाथि बलात्कार गरेको अभियोगमा एकजना ‘धर्मगुरु’ पक्राउ परेका छन् । कन्काई नगरपालिकास्थित कोटीहोमबाट इलामको रोङ गाउँपालिका–३ का छत्रबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो ।

गुरुङ्गले आफुसँगै रहेकी अनुयायी युवतीमाथि बलात्कार गरेको बिर्तामोडका डिएसपी मोहनकुमार थापाका जानकारी दिए । धर्मगुरु गुरुङ आफूलाई ‘छत्रबहादुर गिरी’ भन्दै ७ वर्षदेखि कोटीहोममा बस्दै आएका थिए । प्राय पहेलो कपडा लगाएर हिड्ने गुरुङ्ग लामा दाह्री पालेर साधुको भेषमा कनकाई माइपुर्वको कोटीहोमस्थित शिव मन्दिरमा बस्दै आएका थिए । उनले महिलालाई डर देखाउँदै पटक पटक बलात्कार गरेको आरोप छ ।

पीडितको उजुरीका आधारमा तत्काल गुरुङ्गलाई नियन्त्रणमा लिएको डिएसपी थापाले जानकारी दिए । उनीमाथि झापा जिल्ला अदातलबाट जबरजस्तीकरणीको मुद्दामा ५ दिनको म्याद थपेर अनुसंधान गरिरहेको थापाले बताए । थापाका अनुसार पीडित महिला धर्मगुरुको शिष्य बन्नका लागि सहयोगीको रुपमा सेवा गर्दै आएकी थिइन् ।

दुई सन्तानकी आमा रहेकी पीडित महिलाले पीडा सहन नसकेपछि महिला अधिकारकर्मी बसन्तलक्ष्मी उदासको माध्यमबाट प्रहरीसमक्ष पुगेकी हुन् । तीन महिनादेखि धर्मगुरुको पीडाको शिकार भएकी उनी गर्भवती समेत रहेको डिएसपी थापाले जानकारी दिए । पीडित महिलाको सोमबार भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परिक्षणको रिपोर्ट बुधबार मात्र आउने थापाले बताए ।