भण्टाबारी/ फेसबुकमा भेट भएका केटा साथीलाई विश्वास गर्दा मोरङ जिल्लाकी १७ वर्र्षीया सृजना राई (नाम परिवर्तन) झण्डै बेचिन पुगिन् । उनलाई भण्टाबारीस्थित सशस्त्र प्रहरीको टोली र मानवअधिकार संरक्षण केन्द्र भण्टाबारीका अध्यक्ष शिवेन्द्र कर्ण नेतृत्वको टोलीले उद्धार गर्यो । 
 
मोरङ रमाइलोकी १९ वर्षीया आरती कटुवाल (नाम परिवर्तन) लाई सोही स्थानकी दिदीबहिनीले भारतमा काम लगाइदिने भन्दै बेचबिखनका लागि लैजाँदै गर्दा पक्राउ परिन् । रोजगारीको प्रलोभन दिई भारतमा बेचबिखनका लागि लैजाँदै गर्दा सशस्त्र प्रहरी र भारतीय एसएसबीको सहयोगमा भण्टाबारीबाट मानवअधिकार संरक्षण केन्द्रले आरतीको उद्धार गरी दलाल दिदीबहिनीलाई नेपाल प्रहरीको जिम्मा लगायो । 
 
रोजगारीको प्रलोभन र फेसबुकको चिनजानकै आधारमा विश्वास गर्दा धेरै युवतीहरू बेचबिखनको जोखिममा पर्ने गरेका छन् । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी नाकाबाट मात्र बेचबिखनका लागि लैजाँदै गर्दा २४ जनाको उद्धार गरिएको छ । साझा सवालका लागि साझा मञ्च कोकनद्वारा सञ्चालित सूचना केन्द्र भण्टाबारीले विगत डेढवर्षको अवधिमा २४ जनाको उद्धार गरेको जनाएको छ । विभिन्न प्रलोभनमा पारी ललाई–फकाई भारतमा बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा १२ वर्षीया बालिकादेखि १९ वर्षसम्मका युवती गरी २४ जनाको उद्धार गरिएको कोकनका हेमन्त पौडेलले जानकारी दिए । उद्धार गरिएकालाई अभिभावकको जिम्मा लगाइएको पौडेलले बताए । 
 
चेतनामूलक कार्यक्रम गरिए पनि बेचबिखनको जोखिम यथावत् नै रहेको पौडेलले बताए । युवतीहरू विभिन्न प्रलोभनमा परेर बेचबिखनमा पर्ने गरेका छन् । धनी बन्ने चाहना राखेर अधिकांश युवतीहरू बेचबिखनको शिकार हुने गरिएको मानवअधिकार संरक्षण केन्द्र भण्टाबारीका अध्यक्ष शिवेन्द्र कर्ण बताउँछन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कअनुसार २०७२-०७३ सालमा ५ वटा मानव बेचबिखनको मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७३-०७४ सालमा १३ वटा र २०७४-०७५ सालमा ११ वटा मानव बेचबिखन विरुद्धका मुद्दा दर्ता भएका छन् ।
 
चालू आर्थिक वर्षमा मानव बेचबिखनका घटनामा वृद्धि भए पनि जिल्ला प्रहरी कार्यालय सुनसरीसँग तथ्याङ्क उपलब्ध छैन । मानव बेचबिखन विरुद्धको मुद्दा वार्षिक रूपमा सार्वजनिक गरिने हुँदा २०७५÷०७६ मा के कति मुद्दा दर्ता भए, त्यसको विवरण आउन केही समय लाग्ने मुद्दा फाँटका प्रहरी निरीक्षक सुबेश अधिकारीले बताए । 
 
चेलीबेटी तथा मानव बेचबिखन कार्य नियन्त्रणका लागि सरकारी तथा विभिन्न गैरसरकारी निकाय सीमाक्षेत्रमा केन्द्रित छन् । तर, छोटो समयमा अपरिचित व्यक्तिलाई विश्वास गर्ने, सम्बन्ध जोड्ने, नियमित सम्पर्कमा बस्ने र राम्रो जागिर दिने, प्रेम तथा विवाह गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेको मानव अधिकारकर्मी कर्णले बताए । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी नायव निरीक्षक बेनु बस्नेतले युवती हराएको, सम्बन्धित ठाउँमा नपु¥याएको, सम्पर्कमा नरहेको लगायतका विषयमा प्रहरीमा उजुरी गर्ने क्रम बढेको बताइन् । 
 
चेलीबेटीहरू बेच्ने गिरोह नेपालमा सक्रिय रहेको हुँदा समाजमा हेपिएका, पिछडिएका, अशिक्षित, घरेलु हिंसामा परेकाहरूलाई दलालमार्फत् यौन क्रियाकलाप तथा आपराधिक क्रियाकलापमा संलग्न गराउन, शारीरिक अङ्गहरू बिक्री गर्ने उद्देश्यले लाने गरेको मानवअधिकार सञ्जाल सुनसरीका अध्यक्ष रमेश भट्टराईको बुझाइ छ ।
 
झुक्याएर र प्रलोभनमा पारेर लाने मान्छेहरूको विवरण आउने क्रम बढेकाले मानव बेचबिखनको घटना बढेको बताउँदै मानवअधिकारकर्र्मी भट्टराईले सीमावर्ती क्षेत्रमा चेकजाँचमा वृद्धि हुनु सकारात्मक पाटो भएको बताए । सङ्ख्या बढेको हिसाबले नराम्रो लागे पनि घटना सार्वजनिक हुने क्रम बढ्नुले सर्वसाधारणमा चेतनाको विकास हुने उनको भनाइ छ ।