धरान / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशको स्थायी राजधानीको टुङ्गो लगाएको छ । तर, प्रदेशको नाम भने अझै अन्यौल छ ।

बुधबारदेखि जारी बैठकले प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई नै तय गरेको छ । जसलाई वृहत् विराट क्षेत्र अन्तर्गत अटाइएको छ । तर, प्रदेशको नाम थाँती राखिएको छ । प्रदेशसभामा बहुमत सदस्य नेकपाको छ । संवैधानिक व्यवस्थामा पनि प्रदेशसभाको बहुमत सदस्यले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने व्यवस्था छ ।

प्रदेशसभाको बर्खे अधिवेशनले टुङ्ग्याउन नसकेपछि हिउँदे अधिवेशनबाट टुङ्ग्याउने दाबी गरिएको थियो । प्रदेशको राजधानीको दाबी विराटनगर, इटहरी, गोठगाउँ, धरान र धनकुटाले गर्दै आएको थियो । त्यसमा पनि इटहरी र धनकुटा आन्दोलित बन्दै आएको थियो । वृहत् विराट क्षेत्रमा इटहरी भने समावेश गरिएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रदेशको स्थायी राजधानी विराटनगर नै तय गरिएको छ । प्रदेशको नामका विषयमा भने थाँती राखिएको छ । अर्को बैठक आइतबार १ बजे बस्ने तय भएको छ ।