उदयपुर/ भ्रष्टाचार नियन्त्रण र धार्मिक तथा पर्यटन प्रवद्र्धनको लागि खोटाङका एक युवा साइकल यात्रामा निस्किएका छन् ।
मझुवागढी नगरपालिका–४ खोटाङका कर्ण श्रेष्ठ भ्रष्टाचार नियन्त्रण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ साइकल यात्रामा निस्किएका हुन् ।
‘भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ, धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराको साथ चैत्र ३ गतेदेखि आफ्नै उनी जिल्ला खोटाङबाट साइकल यात्रामा निस्किएका थियो । साइकल यात्रासँगै अभियानमा निस्किएका श्रेष्ठले १ नम्बर प्रदेशका १४ वटै जिल्ला यात्रा गरिसकेका छन् ।
१ नं. प्रदेशबाट शुरुवात गरेको यात्रा ७ वटा प्रदेशको ७७ वटै जिल्लाका विभिन्न स्थानीय तह, क्याम्पस, विद्यालयहरूमा पुगी भेटघाट तथा छलफल र प्रशिक्षण दिने योजना रहेको अभियानकर्ता श्रेष्ठले बताए । साइकल यात्रा गर्दै अभियानमा निस्किएका श्रेष्ठले स्थानीय सरकार, स्कुल, क्याम्पसमा गएर भेटघाट गरी भ्रष्टाचार, पर्यटन प्रवद्र्धन, कानूनको कार्यान्वयनलगायतका विषयमा छलफल र प्रशिक्षण गर्दै १ नं. प्रदेश यात्रा गरिसकेको अभियानकर्ता श्रेष्ठले बताए ।
प्राकृतिक स्रोत साधनको सही ढङ्गले प्रयोग गर्नुपर्ने, प्राविधिक शिक्षा तथा रोजगारमूलक शिक्षा लागू गर्नुपर्ने, आफै आत्मनिर्भर हुनुपर्ने, परजीवी हुन नहुने, भ्रष्टाचार जरैदेखि उखेलेर निर्मूल पार्नुपर्ने, धार्मिक तथा पर्यटकीयस्थलहरूको प्रवद्र्धन गर्नुपर्नेलगायतका विषयमा सचेतनाका लागि साइकल यात्रासँगै अभियानमा निस्किएको र यात्रा जारी रहेको अभियानकर्ता श्रेष्ठले बताए ।
खोटाङबाट शुरु गरेको यात्रा ओखलढुङ्गा, सोलु, भोजपुर, धनकुटा हुँदै उदयपुरमा आएर १ नं. प्रदेशका १४ वटा जिल्ला सकेका थिए । क्याम्पस र विद्यालयहरूमा पढाइने पाठ्यक्रम नै परिवर्तन गरी रोजगारमूलक पाठ्यक्रम लागू गर्नुपर्ने र स्थानीय तहबाट भ्रष्टाचारमुक्त समाजको निर्माण र पर्यटनको प्रवद्र्धन गर्नुपर्ने अभियानकर्ता श्रेष्ठले बताए ।
स्वास्थ्यका लागि र साइकलको महत्व बुझाउनका लागि पनि साइकल रोजेकोे अभियानकर्ता श्रेष्ठले बताए । अन्य सवारी साधनभन्दा फरक र आर्थिक भार नपर्ने भएकाले साइकलबाट नै यात्रा र अभियान गर्दै हिँडेको अभियानकर्ता श्रेष्ठले बताए ।
भौगोलिक विकटताका कारण पहाडमा राम्रो बाटो नहुनाले केही समस्या आए पनि अहिलेसम्म साइकलले कुनै प्रकारको धोका नदिएको अभियानकर्ता श्रेष्ठले बताए । सहज रूपमा १ नं. प्रदेश यात्रा गरिसकेको र अब क्रमशः २ नं. प्रदेश हुँदै ३, ४, ५, ६ र ७ नं. प्रदेश पुग्ने योजना रहेको अभियानकर्ता श्रेष्ठले बताए ।
प्राकृतिक सौन्दर्यसँग खेल्दै रमाउँदै अभियानमा लागेपछि आफूले नसोचेको प्राकृतिक सौन्दर्यता समेत भेटेको अभियानकर्ता श्रेष्ठले बताए । यात्रासँगै अभियानको क्रममा स्थानीय तह, क्याम्पस र विद्यालयबाट आफूले राम्रो सम्मान पाएको अभियानकर्ता श्रेष्ठले बताए ।
































