इटहरी/ इटहरी उपमहानगरपालिका–३ मा रहेको चर्च परम्मेश्वरको मण्डली सुसमाचार समाजमा अनुनायीबीच आन्तरिक विवाद चर्केर उग्ररूप लिएको छ ।
दुई पक्षबीचको विवादले क्रिश्चियनहरूबीच मनमुटाव हुँदा चर्चमा तनाव हुन थालेको हो । दस वर्षदेखि क्रिश्चियन धर्ममा सक्रिय इटहरी वडा नं. ३ कै अभिषेक कार्की, उनकी पत्नी आयुषा चौधरी (कार्की), इटहरी वडा नं. २ कै अनु राई र धनकुटा घर भई इटहरी वडा नं. २ मै बस्दै आएका एलिस गौतमले प्रहरीमा शान्तिसुरक्षाको माग राखेर उजुरी दिएका छन् । चर्चमा पास्टरहरूले मनपरीतन्त्रको विरुद्ध बोल्दा कुटपिट गरेको उनीहरूको आरोप छ ।
एक साताअघि क्रिश्चियन धर्म प्रचारक कोरियन नागरिक सङ् जाहानले अनु राईको घरमा गएर गालीगलौज गरेको विषयमा दुवै पक्षबीच झै–झगडा भएपछि विवाद शुरु भएको थियो । विवाद चर्केसँगै एलिसलाई बुधबार राति चर्चकै अनुयायी केशव दुलालले गलत हल्ला फैलाएको भनी डेरा बसेको ठाउँमै गएर पिटेसँगै चर्चभित्र हुने कर्तुत एकपछि अर्को बाहिरिन थालेको हो ।
केही दिनदेखि चर्चमा विवाद चर्किएसँगै चर्चका संरक्षकहरूसमेत विवाद मिलाउन लागेका छन् । लामो समयदेखि इसाई धर्ममा लागेका अविशेक भन्छन्, ‘चर्चमा भएका गलत कुराको विरोध गर्दा अपहेलना मात्र गरेनन् हामीमाथि हातपातसमेत गरे ।’ एक साताअघि भएको घटनामा संलग्न कोरियाली नागरिक ‘सङ जाहान’ भने फर्किसकेका छन् । प्रहरीमा उजुरी पर्नासाथ सङ् जाहान फर्किएका हुन् । उनले अनु राईलाई घरमै गएर कुटपिट गरेपछि विवादले उग्ररूप लिएको थियो ।
अभिषेक समूहले प्रहरी कार्यालयमा शान्ति सुरक्षाको माग राखेर उजुरी दिइएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर बुद्धि चांैलागाईंका अनुसार धाकधम्की दिएको भन्दै शान्ति सुरक्षाका लागि उजुरी दिएकाले प्रहरीले एकपटक छलफलका लागि बोलाए पनि घटना नटुङ्गिएकाले दोस्रोपटक छलफलमा डाकेको जानकारी दिए । ‘एउटा समूह पहिलाको चर्च छाडेर एक–अर्काबीचको रिसिइबीले गर्दा विवाद भएको देखिन्छ’ उनले भने, ‘यसलाई शान्ति सुरक्षाका लागि मात्र भनेर उजुरी आए पनि त्यसैलाई आधार मानेर गम्भीर अनुसन्धान भइरहेको छ ।’
अहिले चर्चको कार्यसँग अभिषेक कार्कीको एउटा समूह असन्तुष्ट छ । असन्तुष्ट समूहले क्रिश्चियन धर्म छाडेको जिकिर गरेका छन् । अर्को समूह चर्चमै रहेको प्रमिला राई तथा मनोज मण्डलको बचाउ गर्ने पक्षमा सक्रिय रूपमा जुटेका छन् । अभिषेक समूहले चर्चमा आउने अनुयायीलाई भ्रम फैलाएको अर्को समूहको आरोप छ ।
चर्चका मुख्य पादरी रोशन श्रेष्ठले भने कोरियाली नागरिक र अनु राई समूहसँग विवादसँगै सम्बन्ध आफूलाई यकिन नभएको बताए । अनुकै समूहमा रहेका अभिषेकसहितको असन्तुष्टि पनि कोरियाली नागरिकसँगै भएको जिकिर गरे ।
































