उदयपुर/ उदयपुर जिल्लाको मुख्य नदी त्रियुगाको सरसफाइ गर्ने अभियान शनिबारदेखि शुरु गरेको छ ।
त्रियुगा नगरपालिकाले स्थानीय त्रियुगा नदीको सरसफाइ गरी बहुउपयोगी र दिगो व्यवस्थापन गर्ने उद्देश्यले अभियान शुरु गरेको हो । 
 
‘त्रियुगा सभ्यता र विकास, हाम्रो प्रयास’ भन्ने नाराका साथ नगरको आयोजनामा अभियान शुरु गरिएको छ । अभियानको शुरुवातमा नदी किनार आसपासमा रहेको फोहोरलाई व्यवस्थित गर्ने काम भएको छ । नदीको शिर (मुहान) देखि तीन (दोभान) सम्म सफाइ गरिने पालिकाले जनाएको छ ।
 
साताको प्रत्येक शनिबार नदीको सरसफाइ कार्यक्रम सञ्चालन गरिने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । सफा र स्वच्छ नदी दिन प्रतिदिन प्रदूषित हुँदै गएकाले पुरानै अवस्थामा फर्काउनका निम्ति सरसफाइ अभियान शुरु गरिएको चौधरीले बताए । 
 
नदीसँग मानिसको जीवन, विकास, सांस्कृतिक र समृद्धि जोडिएकाले नदी स्वच्छ नभइन्जेल नगरको विकास र हरियाली नगर नबन्ने मेयर चौधरीले बताए । सबै कुराको लागि अत्यावश्यक भनेको पानी हो । पानी बिना केही पनि गर्न नसकिने भएकाले पानीको स्रोत खोला–नाला फोहोर गर्न नमिल्ने भएकाले हिजोको स्वच्छ र निर्मल त्रियुगा फोहोर फालेर प्रदूषित बन्दै गएकाले अभियानको शुरुवात  गरेको मेयर चौधरीले बताए । 
 
नदीको अस्तित्वसँग सबै जोडिएकाले बेलैमा सरसफाइ गरी स्वच्छ र निर्मल बनाउन जरुरी रहेको मेयर चौधरीले बताए । जनचेतनाको कमीले प्याकेटका खाद्य, प्लाष्टिक झोलालगायतका विभिन्न वस्तुको प्रयोग गरी जथाभावी फाल्नाले नदी प्रदूषित बन्दै गएको हो । 
 
गाईघाटबासीहरूलाई पाल्ने त्रियुगा नदी फोहोरका कारण दिन प्रतिदिन प्रदूषित हुँदै गएको छ । यसलाई सफा र स्वच्छ राख्नसके मात्र नगरको उन्नति र प्रगति हुने पालिकाले जनाएको छ । पिउने पानीको रूपमा प्रयोग गरिने नदीको पानी आजभोलि छुन पनि डरमर्दो भएकाले सरसफाइको काम शुरु गरेको पालिकाले जनाएको छ । 
 
नदीको सरसफाइमा सबैको ध्यान गएको देखिन्छ । वृद्धवृद्धाहरूको कुरा सुन्ने हो भने अहिलेको त्रियुगा र पहिलेको त्रियुगामा आकाश–पातालको फरक पाउन सकिन्छ । पौडी खेल्ने, माछा मार्ने, खेतीपाती गर्ने र त्यही पानी खाने गरेको् स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन् । 
 
आधुनिक प्रविधिसँगै विकासे वस्तुले त्रियुगा नदी फोहोर बन्दै गएकाले नगरले अभियानकै रूपमा कार्यक्रम अगाडि बढाएको पालिकाले जनाएको छ । हत्तपत्त नमक्किने प्लाष्टिकजन्य वस्तुले गर्दा नदी प्रदूषित बन्दै गएको छ । प्रदूषण नियन्त्रण गरी स्वच्छ र हरियाली नगर बनाउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको पालिकाले जनाएको छ । 
 
अभियानको पहिलो दिन नयाँ बसपार्क, पुल, शवघाट र शान्तिधाम आसपासको फोहोर व्यवस्थापन गर्ने कार्य भएको थियो । अभियानमा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नागरिक समाज, पत्रकार, विद्यार्थी, सर्वसाधारणको उपस्थिति रहेको थियो ।