मोरङको पथरीशनिश्चरे यसबेला देशकै असुरक्षितस्थलका रूपमा बुझिएको छ । देश–विदेशमा यहाँको रिना बस्नेत रहस्यमय मृत्यु प्रकरण चर्चामा छ । यस घटनालाई लिएर विभिन्न अडकलवाजी आइरहेका छन् । आउनु स्वभाविक हो । आफ्नै कोठा अगाडिको सडकमा भित्री कपडासमेत नभएको सर्वाङ्गै मृत भेटिएकी रिनाको शवको अवस्थाले विभिन्नखाले अड्कलवाजी र आशङ्का जन्माउँछ नै । आत्महत्या नै गर्ने अवस्था भए पनि महिलाले कुनै वस्त्र नलगाई कोठामा वस्त्र फुकालेर त्यसो गर्ने अवस्था नहुने तर्कले ठाउँ पाएको छ । शव देखिसकेपछिका रहस्यमय लाग्ने अन्यखाले अड्कल र तर्क धेरै छन् । पारिवारिक खटपटसहित अन्यत्र जोडिएका प्रसङ्ग, अघिल्लो दिन दिनभर रिना तनावमा हुनु लगायतका धेरै कोणबाट घटना सामान्य हो भनेर स्थानीयले लिएको अवस्था छैन ।
तर सञ्चारमाध्यममा आआफ्नै खाले अडकलबाजी र अरुले गरेका अड्कलबाजीलाई आँखा चिम्लेर विशेष त युट्युब च्यानलमा प्रशारण भएको छ । केही अनलाइनहरूमा त्यहीखाले समाचार प्रकाशित भएका छन् । त्यसमध्येमा पनि ठेलामा रिनाकै शव लगेको लाम्चो सेतो वस्तु देखिएको भनेर मधुरो सीसीटीभीको भिडियो फुटेजको बारेमा प्रकाशन र प्रसारण भएका कुराले सञ्चारमाध्यममाथि निगरानी बढेको अवस्था छ । यसले सञ्चार क्षेत्रमाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ । यसले सञ्चारमाध्यको विश्वसनियतामा कमी ल्याउने र सरकारलाई सञ्चारमाध्यममा थप अङ्कुश लगाउन मद्दत पुग्ने अवस्था हुन्छ । यसले सञ्चारकर्मीलाई नै आफ्नो कर्ममा कमजोर बनाउँछ ।
अप्रिल २० तारेख बिहान रिनाको शव सडकमा भेटिएको थियो । सोही दिन शव उठाएर पोष्टमार्टमका लागि लगियो । २१ तारेखको मिति देखिएको ठेला रिक्साको सीसीटीभी फुटेज युट्युबसहितका सामाजिक सञ्जालमा हालेपछि मानिसमा थप आक्रोस चुलियो । तर त्यसको मिति हेर्ने कुरामा त्यसबेला कसैले याद गरेनन् । समयमात्र यति बजेको भनेर हेर्दा मिति पनि त सँगै थियो नि । मलाई पनि मैले काम गर्ने सञ्चारमाध्यम र अरु धेरै सञ्चारमाध्यमका सञ्चारकर्मीले फोन गरेर त्यो समाचार हामीलाई पनि पठाइदिइहाल्नु भने । अरुले समाचार ब्रेक गरिसके, हामी त पछि पर्यौं भनेर पनि भन्ने कुरा भयो ।
अनि स्थानीयवासीले अरु टाढाकाले चाहिँ भित्री भित्री रहस्यका समाचार ल्याइसके, यहाँकाले किन नलेखेका भन्ने कुरा पनि आएकाले हामीलाई यो घटनाले समाचार लेख्ने कुरामै ज्यादै गाह्रो भयो । हामी स्थानीय भएकाले पनि हरेक पक्षको तथ्य र संवेदनशीलतालाई बढी ख्याल गर्नै पर्ने हुन्छ । पीडित परिवार र स्थानीयले सो घटना सामान्य मान्न तयार छैनन्, तर प्रहरी प्रशासनबाट त्यसबारेमा केही पनि जानकारी पाइँदैन । समाचार भेरिफाइ गर्ने निकायले नै केही आएकै छैन, अनुसन्धान भइरहेको छ भनेपछि हामीले बाहिरी माहोलकै भरमा मात्रै समाचार बनाइरहन सक्ने कुरा भएन । सम्बन्धित अनुसन्धान गर्ने निकायले अनुुसन्धान कति चुस्त गर्ला–नगर्ला आफ्नो ठाउँमा छ । तर अनुसन्धान गर्ने निकायले नै कुनै तथ्य आइनसकेको भनेपछि समाचार लेख्न पनि अप्ठेरो पर्ने कुरा पत्रकार आचारसंहिताले झस्काउँछ । माहौल तातिएको बेलामा कसैले आफूलाई लागेको मात्रै भरमा भनिदिएका कुरा आँखा चिम्लेर बाहिर लाँदा अप्रिय स्थिति सिर्जना हुनसक्छ । प्रहरी प्रशासनको अनुसन्धानमा सक्रियता नदेखिएको ठहर भएर पथरी प्रहरी प्रमुखलाई सरुवा गरिएपछि अनुसन्धानको गति केही बढेको हो ।
सञ्चारमाध्यमले त तथ्य कुराको खोजी गर्ने, कहीँको पनि समाज भड्किने, सम्प्रदायमा आँच आउने प्रकारको समाचार बनाउनु हुँदैन । तथ्यमा रहेर समग्र मानव हितका पक्षमा कलम चलाउने हो । अपराध, अन्याय र अत्याचारको तथ्य बाहिर ल्याउने हो । तर संवेदनशील यो घटनालाई मसलाका रूपमा लिएर काठमाडौंदेखि युट्युबर साथीहरू डेरा लिएरै बसेर आफ्ना ‘भ्यूअर्स’ बढाउने कुरामा बढी केन्द्रित भएर लागेको अवस्था देखियो । मान्छेको ज्यान मरेको ज्यादै संवेदनशील र देशैभरि समवेदना प्रकट भएको विषय प्रशारण गरेर आफ्नो च्यानल ‘ट्रेडिङ’मा प¥यो भनेर सामाजिक सञ्जालमा खुशीका स्टाटस् लेख्नु कति सान्दर्भिक होला ? जसले जे कुरा भन्छ, त्यो बाहिर ल्याइदिइहालेर पीडित बनेका परिवारलाई झनै पीडित बनाउने कामसमेत भयो । रिनाका बालक छोरालाई बारम्बार बोल्न बाध्य पार्नु, घरायसी तथा पारिवारिक व्यक्तिगत कुरा खोतलिरहनुजस्ता कुराले पीडितलाई झनै असर गरेको देखिन्छ ।
ती सबै आन्तरिक पक्ष चाहिँ अनुसन्धान गर्ने निकायको अनुसन्धानको पाटो हो । नामैले ‘सञ्चारमाध्यम’ । कुनै पनि तथ्यलाई आफ्ना माध्यमबाट स्रोता, दर्शक र पाठकसम्म पुर्याउने काममात्रै हो सञ्चारकर्मी र सञ्चारमाध्यमको । तर यसो भएको होला, उसो भएको होला भन्दै प्रहरीले भन्दा अगाडि आफैंले अनुसन्धान गर्ने अनि वकिल भएर प्रस्तुत हुने अनि न्यायाधीश नै बन्ने काम सञ्चारमाध्यमको होइन । सञ्चारकर्मीको समाचारले मात्र न्याय दिलाउने बाटो देखाउन सक्छ, न्याय सम्पादनमा सहयोग पुर्याउँछ । उसको कामै त्यतिमात्रै हो । रिना घटनाले पथरीशनिश्चरेलाई आपराधिक अखडाका रूपमा अन्यत्र चिनिन पुगेको अवस्थामा आफू पनि सोही नगरवासी भएकाले निकै पीडा भइरहेको छ । यस्ताखाले रहस्यमय घटना दोहोरिइरहेकाले शान्ति सुरक्षाको कमजोर अवस्थाबाट त्रास सिर्जना भइरहेको छ । अनुसन्धान गर्ने निकायले प्रभाव, दबावमा नपरी चाँडोभन्दा चाँडो चुस्तरूपमा सत्यतथ्य पत्ता लगाउनु पर्यो । अबका दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि सुरक्षा व्यवस्था र अनुसन्धान प्रक्रिया ज्यादै चुस्त बनाउनु पर्यो ।
































