धरान / धरान–१९ नम्बर वडालाई शुक्रबार बालमैत्री वडा घोषणा गरिएको छ ।
बालमैत्री वडा घोषणा गर्नुपूर्व पूरा गर्नुपर्ने ३९ वटा सूचकलाई पूरा गर्दै बालमैत्री वडा घोषणा गरिएको हो । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, जिल्ला समन्वय समितिका उपाध्यक्ष कृष्णकुमारी बिकलगायतको उपस्थितिमा बालमैत्री वडा घोषणा गरिएको छ ।

दोस्रो चरणमा बालमैत्री वडा घोषणा हुने यो पहिलो वडा भएको वडाध्यक्ष पूर्ण लिम्बूले जानकारी दिए । यसअघि पहिलो चरणमा धरान १३, १४ र २० नम्बर वडा बालमैत्री वडा घोषणा भइसकेका छन् ।

बालमैत्री वडा घोषणा गर्नका लागि २०७४ सालदेखि नै तयारी थालिएको वडाध्यक्ष लिम्बूले बताए । २७ दशमलव ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको धरान १९ मा राष्ट्रिय जनगणना २०६८ अनुसार ५ हजार ३ सय ८३ जनसङ्ख्या रहेको छ ।

यसक्रममा आठौं राष्ट्रिय खेलकुद अन्तर्गत गल्फ प्रतियोगितामा स्वर्ण पदक विजेता धरानका खेलाडीहरूलाई जनही नगद ५ हजार रुपैयाँसहित सम्मान–पत्रले पुरस्कृत गरिएको छ । स्वर्ण पदक प्राप्त गर्ने शुक्रबहादुर राई, बविन्द्र राई, निरज तामाङ र व्यवस्थापक जितेन्द्र राईलाई पुरस्कृत गरिएको हो ।

त्यस्तै वडा कार्यालयको भवनका लागि १० धुर जग्गा प्रदान गर्ने र दुई तले भवन निर्माण गरिदिने दाता कृष्णकुमारी राईलाई पनि दोसल्ला ओढाएर सम्मानित गरिएको छ । उनी पूर्व वडाध्यक्ष तेजबहादुर राईका श्रीमती हुन् । बालमैत्री वडा घोषणाको क्रममा किरातेश्वर मावि, पर्वत बोर्डिङ स्कुल र आवरहोम स्कुलका विद्यार्थीहरूले नृत्य तथा बाल नाटक प्रस्तुत गरेका थिए ।