पथरीशनिश्चरे । बाध्यताले तेस्रो मुलुक पुनस्र्थापना भएका नेपालीभाषी भूटानीहरूले मोरङको पथरीशनिश्चरे शिविर क्षेत्रमा शरणार्थी र स्थानीय ज्येष्ठ नागरिकका लागि हेरचाह केन्द्रको निर्माण गरेका छन् ।
इन्ट्रा नेशनल होम केयरको अगुवाइमा अमेरिका हेल्थ केयर सर्भिस र गौतम इन्सुरेन्स एजेन्सीको आर्थिक व्यवस्थापनमा २२ लाखको लागतमा शिविर क्षेत्रमा हेरचाह केन्द्रको निर्माण भई बिहीबार उद्घाटन भएको छ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रदेश सांसद् सूयर्माराज राईले ‘डे केयर रिफ्रेसन सेण्टर’ नामक हेरचाह केन्द्रको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै सूयर्माराज राई, पथरीशनिश्चरे नगरप्रमुख दिलिपकुमार राई, नायिका केकी अधिकारी, सार्वजनिक वक्ता रमेश केसीसहितले तेस्रो देश पुगेका शरणार्थीले नेपाली भूमि र शिविरका शरणार्थीका लागि गरेको यसखाले योगदानको प्रशंसा गरेका छन् । उनीहरूले शिविरमा रहेकाहरूको चौतर्फी समस्या समाधान गर्न सम्बन्धित पक्षले चासो राख्नुपर्नेसमेत बताए ।
आम्दा अस्पतालले सञ्चालन गरेको स्वास्थ्य केन्द्र रहेको भवनको स्तरोन्नति गर्दै २ वटा ठूला कोठामा ज्येष्ठहरू टहलिने स्थान निर्माण गरिएको छ । जहाँ टिभी, मादल, क्यारेम बोर्ड सहितका सामग्री राखिएको जनाउँदै यसखाले योजनाका योजनाकारमध्येका गोपाल धितालले आफूहरू जहाँ पुगे पनि शिविरमा रहनेहरूका लागि सक्दो सहयोग पुर्याउने जनाए ।
अमेरिकामा पुनर्वास गराइएकामध्ये टिमाई शिविरका पूर्वसचिव डिल्ली अधिकारीको संयोजनमा यसखाले काम भएको उनले बताए । उनीहरूको समूहले अमेरिकाका ५ राज्यको ३० वटा शहरमा पनि यसखाले ‘डे केयर रिफ्रेसन सेण्टर’ निर्माण गरेको प्रसङ्ग सुनाए ।
कृष्ण कँडेलको इन्द्रेणी साँस्कृतिक समूहको प्रस्तुति रहेको कार्यक्रममा चलचित्र नायक दिलिप रायमाझी, चलचित्र निर्देशक विशाल भण्डारी, नृत्य निर्देशक गोविन्द राईसहितको उपस्थिति रहेको थियो ।
































