झापा । शहिद राजन गिरीको १४ औ स्मृति दिवसको अवसरमा विभिन्न संघ/संगठनले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल दशनामी समाज प्रदेश नं. १ समिति, बिर्तामोड नगर समिति, सहिद राजन गिरी प्रतिष्ठान, नेपाल बिद्यार्थी संघ (नेविसंघ), झापालगायतका संघ/संगठनले शुक्रबार सहिद गिरीको सालिकमा श्रद्धाञ्जली दिएका हुन् ।
त्यसैगरी नेपाली काँग्रेस झापाका पूर्व सभापति तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले समेत श्रद्धाञ्जली व्यक्त गरेका दिए । सोही अवसरमा नेविसंघ झापाले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको नेविसंघका झापा अध्यक्ष राजेन्द्र उप्रेतीले बताए ।
कार्यक्रममा दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरीले शोक मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीले गरेका थिए । कार्यक्रममा सहिद गिरीका पिता केदारशम्सेर गिरीको समेत उपस्थिति रहेको थियो । शहिद गिरीको २०६२/०६३ को जनआन्दोलनका क्रममा झापाको चन्द्रगढीमा गोली लागेर मृत्यु भएको थियो ।
































