तेह्रथुम/ म्याङ्लुङ नगरपालिका र छथर गाउँपालिकाको सङ्गमस्थल लुम्बुखोलामा निर्मित पक्की पुलको औपचारिक उद्घाटन गरिएको छ । केही महिना अघिमात्र निर्माण कार्य सम्पन्न भएको पक्की पुल कानून, न्याय तथा सङ्घीय मामिला मन्त्री  भानुभक्त ढकालले बिहीबार उद्घाटन गरेका हुन् । साविक म्याङ्लुङ र ओख्रे गाविस जोड्ने पुलले दुवै क्षेत्रका बासिन्दाको दिनचर्या सहज बनाउने मन्त्री ढकालले बताए ।
 
म्याङ्लुङ नगरपालिका भएर छथरको शुक्रबारे निस्कने १७ किमी सडक स्तरोन्नतिका लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त पहल गर्नुपर्ने उनको भनाइ छ । पक्की पुल सञ्चालनमा आएपछि गाउँमा उत्पादित कृषिउपजको बजारीकरणमा सहज भएको छ ।
 
पुलको उद्घाटन गर्दै मन्त्री ढकालले विकास निर्माणका कामलाई गुणस्तरीय रूपमा छिट्टै सम्पन्न गर्नका लागि स्थानीय तहले पनि भूमिका खेल्नुपर्ने बताए । उनले सङ्घीय सरकारले विकास निर्माणका कामलाई प्रथामिकतामा राखी काम गरेको बताए । उनले भने, ‘मुलुकका सबै खोलामा पक्की पुल निर्माण गरी प्रत्येक गाउँ सडक सञ्जालले जाडिनेछ ।’
 
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिव ढुङ्गानाले विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले जनताको आवश्यकता अनुसार काम गर्न आफूहरू सधैँ तत्पर रहेको जनाए । नवनिर्मित पक्की पुलबाट सदरमुकाम म्याङ्लुङसँग छथरको ओख्रे, सुदाप, हमुरजुङ, पञ्चकन्या, आङदिम र धनकुटाको छथर जोरपाटी गाउँपालिकाका स्थानीय लाभान्वित हुनेछन् । 
 
साविक जिल्ला विकास समितिको ५ करोड २९ लाख लागतमा निर्मित मोटरेवल पुलको लम्बाइ दुईसय मिटर रहेको छ । २०७२ साल जेठ २४ गते सम्झौता भएको उक्त पुल निर्माणको जिम्मा सपना निर्माण सेवाले लिएको थियो ।