रङ्गेली/ विराटनगरको बजारमा मागी हिँड्ने शारीरिक अशक्त एक महिलाले माग्न प्रयोग गर्दै आएको शिशुको उद्धार गरिएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, सिविन हेल्पलाइन र एसओएस बालग्राम इटहरीले १० महिने बालक सुमन मुखियाको उद्धार गरिएको हो । शारीरिक अशक्त दानवति मुखियाले शिशुलाई मागी खाने भाँडो बनाएर प्रयोग गर्दै आएकी थिइन् । उनी सडकमा आफूसँगै बच्चा राखेर माग्ने गर्थिन् ।

बच्चाको सरकारी निकाय तथा गैरसरकारी संस्थाको पहलमा उद्धार गरिएको हो । माग्न सडकमा बस्दा बच्चाको स्वास्थ्य खतरामा पर्ने भएकाले उद्धार गरिएको सिविन हेल्पलाइनका प्रमुख वासु अधिकारीले बताए । शारीरिक अशक्त दानावती मुखिया बसपार्क र महेन्द्र चोक बीचको एउटा घुम्तीमा बस्छिन् ।

सडक, गल्लीको छेऊमा यसरी बस्दा दूधे बालकको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको थियो । सडकको धुलो, धुँवा र चिसोले बच्चालाई जुनसुकै बेला सङ्क्रमण हुने अवस्था थियो । बच्चाको अवस्था देखेर वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले उनको जन्मदर्ता गरिदिई अहिले विराटनगर महानगरपालिको र सिडियो कार्यालयको रोहबरमा एसओएस बालग्राम इटहरीले सम्पूर्ण शिक्षादिक्षा दिने गरी जिम्मा लगाइएको छ ।

सडकमा आफूसँगै बच्चालाई पनि माग्न लिएर हिँडदा जोखिमपूर्ण अवस्था देखिएकाले उद्धार गरिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । बच्चाको भविष्यलाई समेत ख्याल गरेर उद्धार गरिएको उनले बताए ।

दानवती मुखिया बच्चाको असली आमा भने होइनन् । बच्चाको जन्मदर्ता असली आमा सुलेखा मुखिया उल्लेख गरिएको छ । जिल्ला प्रशासन र मोरङ प्रहरीको अनुसन्धाबाट दानवती असली आमा नभएको खुलेको हो । सुलेखाले बच्चालाई कोशी अञ्चल अस्पतालमा जन्म दिएको बुझिएको छ ।