पथरीशनिश्चरे/ उत्तरपूर्वी मोरङका जङ्गलहरू रहेका हरिण, मृगसहितका जङ्गली जनावरलाई घरपालुवा कुकुरले शिकार गर्ने क्रम बढेको छ ।

सिकारीहरूमार्फत् पनि कुकुर प्रयोग गरेर जङ्गली जनावरको शिकार गर्न गरेको तथ्य बाहिर आएको अवस्थामा पछिल्लो पटक लेटाङ–९ जाँतेमा एउटा हरिण घाइते अवस्थामा फेला परेको छ । ७ वटा कुकुरको समूहले लखेट्दै ल्याएको एक बयस्क भाले हरिणलाई गाउँलेले बुद्धचोकमा उद्धार गरेका छन् ।

हरिणलाई स्थानीय वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्त राई, जाँते सव डिभिजन वन कार्यालयका हिमबहादुर बस्नेतलगायतका स्थानीयको रोहवरमा सेक्टर वन कार्यालय मङ्गलबारेलाई जिम्मा लगाइएको स्थानीय कमल राईले जनाए । घाइते अवस्थाको हरिणलाई पहिले उपचार गराई संरक्षण क्षेत्र वा जङ्गलमै पुनस्र्थापना गरिने मङ्गलबारे वनका सुविदार टङ्क सिञ्चिउरीले बताए ।

यसखाले छाडा कुकुरहरूले विगतमा पनि जङ्गल क्षेत्रमा कयौं हरिण, चित्तल, खरायो, बँदेल जस्ता जङ्गली जनावर मारेर खानुका साथै गाउँघरमा समेत आतङ्क फैलाउने गरेका थिए । भुस्याहा कुकुरको समूहले गाउँबाट जंगलमा चराउन लगेका बाख्रासमेत मारेर खाने गर्दै आएको बाख्रा हेरालु देबेन्द्र काफ्ले बताउँछन् । ‘बाख्रा टोक्ने कुकुर लखेट्न खोज्दा मानिसमाथि नै जाइलाग्ने गर्छन् ।’– उनले भने ।