मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकाले मधुमल्ला बजारको अनुगमन शुरु गरेको छ । पछिल्लो समय सञ्चार माध्यम तथा स्थानीयस्तरमा व्यापक रूपमा म्याद गुज्रेका अखाद्य वस्तुहरू खुलेआम रूपमा बिक्री भइरहे पनि सम्बन्धित निकायले बजार अनुगमन नगरेको समचार र जनगुनासा आइरहेका थिए ।
ब्लाष्ट दैनिकमा फलोअप समाचार प्रकाशन भएपछि मिक्लाजुङ बजार अनुगमन समितिले बजारको अनुगमन कार्यलाई तीव्रता दिइको छ । आइतबार भएको बजार अनुगमनमा मिक्लाजुङ–९ का ४८ वटा पसलहरूको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कतिपय पसलहरू म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थहरू भेटिएका र त्यस्ता पदार्थहरूलाई छनोट गरी नष्ट गर्न वा कम्पनीलाई नै फिर्ता पठाउन बजार अनुगमन टोलीले निर्देशन दिएको मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष सरला राईले बताइन् ।
आइतबार अनुगमनकै क्रममा मधुमल्ला बजारमा रहेका सम्पूर्ण अधिकांश सुन पसलहरू समेत बन्द गरी व्यापारीहरू हिँडेका थिए । यसरी अनुगमन टोली आउँदा सुन पसलहरू बन्द हुनुमा सुन पसलहरूको कारोबारमा समेत प्रश्न चिह्न खडा भएको अनुगमन समितिको ठहर छ । अब नियमित रूपमा बजार अनुगमन गरिने र अनुगमन गरी सुझाव दिएका पसलहरूमा गल्ती दोहोरिए कानूनी दायरामा ल्याइने अनुगमन टोलीका सदस्य तथा उपभोक्ता हकहित संरक्षण समितिका संयोजक चिन्तामणि पोख्रेलले बताए ।
उनले भने, ‘हामी अनुगमनको पहिलो चरणमा छौं जुनजुन पसलहरू नियमविपरीत सञ्चालित छन् उनीहरूलाई नियमभित्र ल्याई ब्यापार गर्न र खाद्य तथा पेय पर्दाथहरू र उपभोग्य वस्तुहरूको उत्पादित मिति र त्यसको प्रयोग मिति हेरी बिक्री गर्न अनुुगमन टोलीले सुझाएको पोख्रेलले बताए । यस्तै पसलको नाम प्रष्ट देखिने गरी राख्न, पसलमा मूल्य सूचीसमेत राख्न निर्देशन दिएको छ ।
मोरङ जिल्लामा नै पहिलो पटक यो मिश्रित प्रकारको बजार गरिएकोे प्रोख्रेलको दाबी छ । बजार अनुगमन टोलीमा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राई, गापाका आर्थिक विकास शाखा प्रमुख गौरीप्रसाद राई, गापा कृषि अधिकृत मोहन मिश्र, स्थानीय प्रशासन, मिक्लाजुङ व्यापार प्रबन्ध समिति, सङ्घ–संस्था प्रतिनिधि र सञ्चारकर्मीहरू समेतको टोलीले बजार अनुगमन गरेको थियो ।
































