इटहरी/ बाउन्स चेक दिएर ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरीको दिनेको लर्को लागेको छ ।

खातामा पैसा नभएको अवस्थामा चेक काट्दै सर्वसाधरण ठग्ने गरेका छन् । पछिल्लो समयमा चेक बाउन्सको घटना इटहरी आसपासमा अत्याधिक भएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले बताए । ‘पछिल्लो दुई महिनामा चेक बाउन्समा ८ जनालाई मुद्धा दायर गरेका छौ,’ इन्स्पेक्टर चौलागाईले भने ।

रकम भुक्तानीका लागि आउने तीव्र दबावका कारण जानेर नै बाउन्स चेक दिएर थमथमाउने प्रयास बढ्दो छ । चेक बाउन्समा इटहरी–८ का सरोज बुढाथोकीमाथि ८ लाख २० हजार बैकिङ कसुर ठगीमा इलाका प्रहरी कार्यालय इटहरीले मुद्धा दायर गरेको थियो ।

त्यस्तै रुपेशकुमार चौधरीमाथि पनि १ लाख ४७ हजार रुपैयाँ चेक बाउन्स गरेको भन्दै मुद्धा दायर भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयमा इटहरीले १ लाख ६० हजार चेक बाउन्स गरेको भन्दै इन्द्रप्रसाद ढुङ्गेल, ३ लाख रुपैयाँ बाउन्स गरेकोमा इटहरी–१६ का चन्द्रनारायाण चौधरीमाथि मुद्दा दायर भएको छ ।

त्यस्तै डलबहादुर राईले पनि १२ लाख ९० हजारको चेक बाउन्स गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । भुवनबहादुर कटुवालले ३२ लाखको चेक दिए पनि पैसा नभएको भन्दै बाउन्स गरेको कारण मुद्धा दर्ता भएको इन्स्पेक्टर चौलागाईले जनाए ।

इटहरी–५ की सञ्जु बस्नेतमाथि पनि १८ लाख १६ हजार ठगी गरेको भन्दै बाउन्स चेकमा मुद्धा चलेको प्रहरीले जनाएको छ । इटहरीकै मेनुका क्षेत्रीमाथि पनि ५ लाख रुपैयाको चेक बाउन्समा मुद्दा दायर भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेलले सर्वसाधरणहरू कारोबारमा ठगी गरेको भन्दै उजुरी लिएर उल्लेखनीय मात्रामा आउँने बताए । पैसा नभएको खाताको चेक काट्नेलाई बैंकिङ कसुर गरेको प्रमाणित गर्दै प्रहरी कार्यलयमा मुद्दा दिनेहरूको सङ्ख्या बढ्दो रहेको उनको भनाइ छ ।