उदयपुर/ उदयपुरका त्रियुगा नगरभित्र सार्वजनिक तथा ऐलानी भएका जग्गाको विवरण सङ्कलन कार्य तीव्र रूपमा भइरहेको छ ।
त्रियुगा नगरपालिकाले नगरभित्र बसोबास र भोगचलन गर्दै आएका एलानी जग्गाको विवरण सङ्कलन कार्य तीव्ररूपमा भएको हो । गत फागुन १९ गते एलानी जग्गाको विवरण सङ्कलन तथा अभिलेखीकरण व्यवस्थापन समिति गठन गरी कार्यालय स्थापना गरी विवरण सङ्कलनको कार्य तीव्ररूपमा भइरहेको कार्यालयले जनाएको छ । नगर क्षेत्रभित्र ६० प्रतिशत घर परिवार ऐलानी जग्गामा बसोबास गर्दै आएकाले उनीहरूलाई व्यवस्थित गर्नका लागि र पालिकाले योजना तर्जुमा गर्दा तथ्याङ्कको आवश्यक पर्ने भएकाले अभिलेखीकरण गरी विवरण सङ्कलनको काम अघि बढाइएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।
नगर भित्र के कति एलानी जग्गा भोग चलनमा रहेको र कस्ता खालको मानिसहरूले बसोबास गर्दै आएको यकिन गर्न र करको दायरामा ल्याई व्यवस्थापन गर्नका लागि विवरण सङ्कलन अभियानको थालिएको हो । एलानी जग्गामा बसोबास गर्दै आएका घरपरिवारलाई व्यवस्थापन गर्नका लागि विवरण सङ्कलन कार्यअघि बढिरहेको मयेर चौधरीले बताए । नगरपालिकाको भूमिसम्बन्धी नयाँ कानून नबनुञ्जेल सर्वे, नापी, छुट जग्गा भई जग्गा धनी प्रमाण पुर्जा नभएको, सामुदायिक वन उपभोक्ता समूहको रेखाङ्कन गरेको वन क्षेत्रको सीमाभन्दा बाहिरका परापूर्वकाल देखि बसोबास तथा भोगचलन भएको ऐलानी जग्गाको विवरण सङ्कलन कार्य तीव्ररूपमा भइरहेको कार्यालयले जनाएको छ ।
नगरमा पुस्तौँ पुस्तादेखि बसोबास गर्दै आएका तर जग्गाको धनिपुर्जा नपाएका सुकुम्बासीको विवरण र एलानी जग्गाको विवरणको काम वडा कार्यालयले गरिरहेको छ । विवरण सङ्कलनमा जग्गाको चार किल्ला तयार पारिने भएकाले यसले पालिकालाई ठूलो सहयोग गर्ने नगरपालिकाले जनाएको छ । विवरण सङ्कलनमा राष्ट्रिय वन क्षेत्र, सामुदायिक वनको क्षेत्र, सरकारी जग्गा, सरकारी भवन, अस्पताल, गुठी, शिक्षण संस्था, मन्दिर, गुम्बा, चर्च, मस्जिद, खानेपानी, पोखरी, हवाई मैदान, विद्युत् उत्पादन गृह, मसानघाट, बसपार्क, रङ्गशाला, उद्यान पार्कलगायतको विवरण सहज रूपमा पाउन सकिन्छ । त्रिनपामा २० हजार घरधुरीमध्ये ६० प्रतिशत ऐलानीमा बसोबास गर्दै आएका छन् ।
जसमा १ लाख ५ हजार जनसङ्ख्या रहेको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । विवरण सङ्कलनमा वडाका प्रतिनिधि, जग्गा सर्वेक्षक (अमिन), तथा राजश्व सङ्कलन कार्यालय सहयोगीसहितको टोलीले घरमै पुगी विवरण सङ्कलन गरी रहेको नगपालिकाले जनाएको छ । नगरले ऐलानी जग्गाको विवरण सङ्कलन तथा अभिलेखीकरण र व्यवस्थापन समिति कार्यविधि नियमावली पास गरी २० सदस्यीय समिति गठन गरेर सङ्कलनको काम भइरहेको छ ।
































