सिरहा/ हुलाकी सडक सङ्घर्ष समिति सिरहाद्वारा आयोजित एक  कार्यक्रमकाबीच अवकाशप्राप्त शिक्षक रामआशिष यादवको संयोजकत्वमा हुलाकी सडक शैक्षिक जागरण समिति गठन भएको छ । 
 
सिरहादेखि भगवानपुरसम्म हुलाकी सडकको छेउछाउमा अवस्थित २० वटा माध्यमिक विद्यालयको शैक्षिक पठन–पाठनमा देखिएको ढिलासुस्ती तथा कमीकमजोरीलाई अनुगमन गर्न हुलाकी सडक शैक्षिक जागरण समिति गठन गरिएको हुलाकी सडक सङ्घर्ष समितिका केन्द्रीय संयोजक रामरिझन यादवले बताएका छन् ।
 
सङ्घर्ष समितिलाई बल पुर्याउन स्थानीय अनशनमा समेत बसेका छन् । गत पुष र माघ महिनामा कमला र बलान पुलको निर्माणका लागि दबाव दिनसमेत स्थानीय अनशनमा बसेका थिए । 
 
कार्यक्रममा अवकाशप्राप्त शिक्षक रामआशिष यादव तथा चन्देश्वरप्रसाद यादवले सडकको छेउछाउका स्कुलको पठन–पाठनसम्बन्धी बेथितिको सन्दर्भमा बोलेका थिए । कार्यक्रम हुलाकी सडक सङ्घर्ष समिति सिरहाका संयोजक मनोज पासवानको संयोजकत्वमा सम्पन्न भएको थियो । साथै हुलाकी सडकमा पर्ने कमला पुलको निरीक्षण हुलाकी सडक सङ्घर्ष समितिका केन्द्रीय संयोजक रामरिझन यादवले गरेका छन् ।
 
हुलाकी सडकमा पर्ने कमला पुलको निर्माण एक वर्षभित्र सम्पन्न हुने गत माघ १९ गते सिरहा स्कुलको प्राङ्गणमा आयोजित सभामा प्रधानमन्त्रीले बताएका थिए । तर, प्रधानमन्त्रीले हजारौं जनताको बीचमा कबुल गरेको दुई महिना नबित्दै ठेकेदार पप्पु कन्स्ट्रक्सनले काम ठप्प पारेको पुल निरीक्षण गरी फर्केका हुलाकी सडक सङ्घर्ष समितिका केन्द्रीय संयोजक यादवले बताएका छन् । 
 
संयोजक यादवका अनुसार गत माघ १९ गते हेमनारायण स्मृति दिवसको अवसरमा प्रधानमन्त्रीको आगमनका क्रममा एक महिना ३ दिनको अनशन जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरको रोहवरमा तोडिएको थियो ।