इटहरी/ शनिबार तीनजना बालिकालाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वअसई इटहरी–३ का ५० वर्षीय देवीबहादुर लिम्बू पक्राउ परेका छन् ।
पैसा र खानेकुराको प्रलोभन देखाई सोही क्षेत्रका बालिकाहरूलाई बलात्कार गरेको आरोपमा लिम्बूलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । लिम्बूले एक बालिकालाई एक वर्षदेखि लगातार बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । अन्य दुई बालिकालाई पनि बलात्कारको प्रयास गर्दै आएको प्रहरीले जनाएको छ । पीडित बालिकाहरूका परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा लिम्बूविरुद्ध किटानी जाहेरीसमेत दिएका छन् । उनले बालबालिकाहरूलाई बजार घुमाउन लानुको साथै घरमै खानेकुरा र पैसाको प्रलोभन देखाउने गरेको पीडित परिवारले बताएका छन् ।
पीडित बालिकामध्ये एक जनालाई भने लिम्बूले घर र जङ्गलमा लगेर धेरै पटक जबरजस्र्ती करणी गरेको बताइएको छ । दुईजना बालिकालाई भने सम्वेदनशील अङ्गहरूमा हात लगाउने गरेको पीडित परिवारले जनाएका छन् । ‘टोलमा हल्ला भएपछि बालिकाहरूलाई बुझ्दा घटना यथार्थ रहेछ’ पीडितमध्येका एक बालिकाका बुबाले भने, ‘छोरीमाथि परेको अन्यायविरुद्ध प्रहरीकहाँ आएका हौं ।’
यस्तै अर्का पीडित बालिकाकी आमाले पनि छोरीलाई कपडा खोल्न लगाएर सम्वेदनशील अङ्गमा हात लगाउने र जबर्जस्ती गर्ने गरेको बताइन् । घरमा बोलाएर यस्तो हर्कत गरेपछि छोरीले डराउँदै घरमा भनेपछि आफूहरूले थाहा पाएको उनले बताइन् । टोलमा लिम्बूले ती बालिकाहरूलाई भान्जी भनेर बोलाउने गर्दथे ।
यता इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टरबुद्धि चौंलागाईंले घटना सम्वेदनशील भएको बताउँदै अनुसन्धानपछि जानकारी दिने बताए । बालिकाहरूलाई यौनाङ्गमा छुनेलगायतको हर्कत गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महिला यौन तथा बलात्कारको घटनालाई गम्भीरतापूर्वक हेरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इटहरीमा बलात्कारका घटना बढिरहेको पाइएको छ । दश महिनाको अवधिमा १९ जना बालबालिका बलात्कृत भएका छन् । ११ महिने बालिकासम्म बलात्कृत भएको इलाका प्रहरी कार्यालय इटहरीको तथ्याङ्कले देखाउँछ । बलात्कारको आरोपमा प्रहरीले २२ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ भने एकजना फरार रहेको प्रहरी बताउँछ ।
त्यस्तै जबरजस्ती करणी उद्योगमा ६ जनालाई मुद्दा दायर गरेको छ भने ३० जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै बालयौन दुरुपयोगमा दुई जनालाई मुद्दा दायर गरी २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।