भद्रपुर / आठ केजी चाँदीका तयारी गहनासहित सशस्त्र प्रहरीले एक जना भारतीय नागरिकलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल जलपाइगुडी बस्ने बर्ष ३० को मिठू सेन रहेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।
भारतबाट नेपाल आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा सेनले कपडामा बेरेर झोलामा ल्याउदै गरेको अवस्थामा आइतबार दिउँसो सशस्त्र प्रहरी राजस्व गुल्म काँकडभिट्टाले पक्राउ गरेको थियोे ।
उनको साथबाट प्रहरीले तयारी गहना पायल र झुम्का ४ रोलको ८ केजी फेला पारेको डिएसपी ओजेस ओलीले जानकारी दिए । बरामद चाँदीको मूल्य तीन लाख चौसठी हजार आठ सय त्रियासी रहेको नेपाल सुन चाँदी व्यवसायी सङ्घले जनाएको छ । पक्राउ परेका सेन र चाँदीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको डिएसपी ओलीले जनाए ।