धरान । फागुन ७ गते होलीको दिन धरान–९ बगैचालाइनमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा चार जना युवालाई पक्राउ गरी धरान प्रहरीले शनिबार सार्वजनिक गरेको छ ।
छुरा प्रहार गरी धरान–८ सिदार्थमार्गका नीमा तामाङलाई धरान–८ कै युवाहरूले हत्या गरेका थिए । हत्यामा संलग्नलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी सार्वजनिक गरेको हो । रिसिइबीका कारण धरान–८ कै सुसान्त लिम्बू, निश्चल बिक, शरण राई र धरान–७ पानमारास्टेण्डका मनिष लावती लिम्बूले छुरा प्रहार गरेका थिए । त्यसमध्ये प्रहरीले त्यही दिन २ जनालाई नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले नाम भने सार्वजनिक गरेको थिएन ।
युवाहरूले नीमा र धरान–८ कै मिलन बिकलाई छुरी प्रहार गरेका थिए । तर, नीमाको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा निधन भएको थियो । उनको छातीको दाँहिने भागमा छुरी प्रहार गरिएको थियो । त्यस्तै बिकको पनि छुरी लागेर सामान्य घाइते बनेका थिए । हत्यामा आरोपित चारै जनालाई कर्तव्य ज्यान मुद्दामा दर्ता गरिएको इलाका प्रहरी कार्यालय धरानको सूचना तथा सञ्चार शाखाले जनाएको छ ।
नीमाले गत माघ महिनामा चार जना समूहमध्येकै एक जनालाई छुरी प्रहर गरी घाइते बनाएका थिए । सोही रिसिइबी साध्नका लागि छुरी प्रहार गरेको बताइन्छ । त्यस्तै होलीकै दिन धरान–७ शान्तिपथमा धरान–५ देउरालीका सुजन भुजेल र राजन राईलाई आक्रमण गर्ने धरान–१५ का प्रशान्त लिम्बू, आविश्कार लिम्बू, रोशन तामाङ, बिजु भुजेल, अभिषेक मगरलाई पनि पक्राउ गरिएको छ । उनीहरूको साथबाट प्रहरीले तीन थान घरेलु हतियारसहित पक्राउ गरेको थियो । उनीहरूको साथबाट एक थान बञ्चरो, १ थान कट्टी र एक थान खुर्पा बरामद गरेको छ ।
उनीहरूलाई पनि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ । त्यस्तै फागु पूर्णिमाकै दिन धरान–७ पानबारी बसपार्क छेउमा धरान–१० का राजकुमार श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा ७ जना युवालाई नियन्त्रणमा लिएको छ । प्रहरीले धरान–१५ का दीपक लिम्बू, धरान–१४ का एल्बिस राई, धरान–११ का रुपा राई, धरान–५ का विनोद राई, धरान–१५ का जेनिष राई, धरान–३ का आकाश मुखिया, र कमल मल्ल ठकुरीलाई पक्राउ गरेको छ । उनीहरूले बिना कारण श्रेष्ठलाई धाकधम्की दिइको आरोपमा पक्राउ गरिएको सूचना तथा सञ्चार शाखाले जानकारी दिएको छ । उनीहरूलाई अभद्र व्यवहार मुद्दा अगाडि बढाइएको छ ।