धरान/मन्दिरको जग्गा कीर्ते गरेर हडप्न नक्कली जग्गाधनी खडा गर्ने गिरोहलाई सिफारिस गरेका धरान–१६ का वडाध्यक्षसहित मालपोतका दुई कर्मचारी धरौटी बुझाइ तारेखमा छुटेका छन् ।

सुनसरी रामधुनी नगरपालिका–६ स्थित गुठीमा रहेको चन्द्रशेखर महादेव मन्दिरको नामको २२ कट्ठा १० धुर जग्गा व्यक्तिको नाममा गर्नका लागि चन्द्रशेखर महादेव परियार नामका नक्कली जग्गा धनी बनाई जग्गा हत्याउने प्रयासमा ९ जनाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता भएको थियो । चन्द्रशेखर महादेव र चन्द्रशेखर महादेव परियार दुवै एकै व्यक्ति भएको सिफारिस माग भए बमोजिम धरान–१६ का वडाध्यक्ष दिलकुमार गिरी ‘कान्छा’ ले सिफारिस गरिदिएका थिए ।

सोही सिफारिस गरेको आधारमा उनीविरुद्ध सरकारी न्यायाधीवक्ताको कार्यालयले फागुन २१ गते अभियोग पत्र दर्ता गरेको थियो । जिल्ला अदालत १ नम्बर न्यायाधीश पुरूषोत्तमप्रसाद ढकालको इजलासले थुनछेक बहसपछि वडाध्यक्ष गिरीलाई २ लाख रुपैयाँको तारेखमा छाडेको हो । त्यस्तै सुनसरी मालपोतका नायव सुब्बा भरतराज दाहाललाई एक लाख रुपैयाँ धरौटीमा छाडेको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले बताए ।

उनका अनुसार दुई दिनअघि अर्थात् आइतबार मालपोतका अधिकृत मात्रिका दङ्गाललाई पनि थुनछेक बहसमै १ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छाडेको छ । अन्यलाई भने साधारण तारेखमा छाडिएको छ । त्यसमध्ये कीर्ते गरी जग्गा हत्याउन लागि परेका धरान–१६ का सोम परियार, मानबहादुर परियार र इटहरी–२० का अधिवक्ता भनिएका अर्जुन चौधरीलाई पुर्पक्षका लागि झुम्का कारागार पठाइएको थियो भने धरान–१६ कै अर्जुन मगरलाई ५ लाख रुपैया धरौटीमा तारेखमा छाडेको थियो ।

मानबहादुर परियारलाई नै चन्द्रशेखर महादेव परियार बनाएर नक्कली नागरिकता बनाइएको थियो । नागरिकताको सम्पूर्ण कागजात नै नक्कली रहेको प्रहरीले अनुसन्धानको क्रममा फेला पारेको थियो । परियारले कीर्ते नागरिकतामा प्रयोग गरेको नागरिकता नम्बर एक महिलाको नागरिकता नम्बर रहेको छ । सोही नागरिकताको आधारमा चन्द्रशेखर महादेव र चन्द्रशेखर महादेव परियार एकै व्यक्ति भएको भन्दै वडामा सिफारिस माग गरेका थिए । सो मागअनुसार मङ्सिर २७ गते वडाध्यक्ष गिरीले सिफारिस दिएका थिए ।

पार्टीगत रूपमा गिरी र सोमबहादुर एकै पार्टीमा भएकाले पनि विश्वासको आधारमा सिफारिस दिएको स्रोत बताउँछ । पार्टीको ‘पोर्टफोलियो’ अनुसार गिरीभन्दा सोमबहादुर माथिल्लो पदमा रहेका थिए । समाजसेवामा पनि सक्रिय भएकाले सोमबहादुरको कुरालाई गिरीले विश्वास गरी सिफारिस गरिदिएको बताइन्छ । तर, वडाध्यक्ष गिरीले आफूले गलत नियतले सिफारिस नगरिएको दाबी गर्दै आएका छन् । गुठीको जग्गा इटहरी तरहरा निवासी नन्दबहादुर विश्वकर्मालाई बिक्री गर्न लागेका थिए । उनीबाट गिरोहले नगद १२ लाख रुपैयाँ बैनासमेत लिएको थियो । विकलाई शङ्का लागेपछि प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पकलीले ठगी आरोपमा चार जनालाई नियन्त्रणमा लिएको थियो ।

गुठीको जग्गामा मतियारको रूपमा अदालतमा वडाध्यक्ष गिरीसहित मालपोत कार्यालय इनरुवाका शाखा अधिकृत मातृका दङ्गाल, नायव सुब्बा भरतराज दाहाल, बक्लौरीका रोहित दर्नाल र उपेन्द्र कटवालविरुद्ध अभियोग पत्र दर्ता भएको थियो । अन्य चारमध्ये तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने एकजना ५ लाख रुपैयाँ तिरेर धरौटीमा छुटेका थिए ।