काँकडभिट्टा/भारतमा आसन्न आम निर्वाचनलाई लक्षित गरेर नेपाल र भारतका सुरक्षा अधिकारीबीच दुई देशीय सुरक्षाका विषयमा छलफल भएको छ ।
भारत दार्जेलिङमा हुने आसन्न चुनावलाई लक्षित गर्दै भारतले सुरक्षा व्यवस्था कडा बनाउन लागेको छ । यसक्रममा भारतको सुरक्षा प्रमुखहरूले सीमा क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै नेपालका सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीबीच छलफल भएको हो । सीमा क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधिले भारतको आम निर्वाचनलाई प्रभावित पार्न सक्ने खतराप्रति सचेत हँुदै सुरक्षामा गम्भीर बन्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दिनेश मैनाली बताए ।
छलफलमा नेपालमा दैनिकरूपमा भारतबाट लागूऔषध नेपालमा भित्रिन थालेपछि कडाइ गर्नका लागि दुवै देशका सुरक्षा अधिकारी सहमत भएका छन् । भारतको तर्फबाट आइजीपी मनोज वर्माले भारतको दार्जिलिङ, जलपायुगुडीमा १८ तारिखबाट हुन लागेको निर्वाचनमा सीमा क्षेत्रमा कडाइ गर्नका लागि नेपाल प्रहरीलाई अनुरोध गरेका थिए ।
नेपालमा भारतका मानिसहरूले अवैधरूपमा लुकाएका भारु पैेसाहरू निर्वाचनका बेला चलखेल हुने भएकाले नाका निगरानीका लागि कडाइ गर्नका लागि अनुरोध गरेका थिए । नेपालबाट दैनिकरूपमा बैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै बिदेश जाने बहानामा नेपाली महिलाहरू भारतमा बेचिने भएकाले यस विषयमा निगरानी गरिदिनका लागि नेपाल प्रहरीले भारतीय प्रहरीलाई अनुरोध गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापाले जानकारी दिए ।