धनकुटा / नेपाल यातयात स्वतन्त्र मजदुर सङ्गठन धनकुटाको छैठौं जिल्ला अधिवेशनले कमल थिङ तामाङलाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा बिहीबार चयन गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाको प्रमुख आतिथ्य र धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको विशेष आतिथ्यमा सम्पन्न छैठौं जिल्ला अधिवेशनले ११ सदस्यीय सङ्गठनको जिल्ला समिति चयन गरेको हो । सङ्गठनको उपाध्यक्षमा फुर्वा घिसिङ तामाङ, सचिवमा इन्द्र थापा, सह–सचिवमा कुमार श्रेष्ठ र कोषाध्यक्षमा राम थापा चयन भएका छन् ।

सदस्यहरूमा प्रकाश तामाङ, हरि थापा, गणेश तामाङ, सागर तामाङ, अमृत तामाङ र नारायण थापालाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष कमल थिङ तामाङले बताए । उद्घाटन सत्रका प्रमुख अतिथि ज्वालाले मजदुरहरू पेशागत हकहितको लागि एक हुनुको विकल्प नरहेको बताए । उनले मजदुरको हितमा साझा काम गर्नको लागि सङ्गठन निर्माण गर्नुपर्नेमा जोड दिए ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ तामाङले राष्ट्र निर्माणका सम्वाहक मजदुरहरू नै भएकाले मजदुरहरूको हितमा स्थानीय सरकारले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन धनकुटाका अध्यक्ष सिंह तितुङ तामाङको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।