विराटनगर / अहिले भइरहेको निर्वाचन प्रणाली त्रुटीपूर्ण भएको पूर्व सांसद्हरूले बताएका छन् ।
अहिले अपनाएकोे निर्वाचन प्रणालीले भ्रष्टाचार बढाएको भन्दै समयसापेक्ष परिवर्तन गर्नुपर्ने उनीहरूले बताएका हुन् । अहिले अपनाइएको निर्वाचन प्रणाली अत्यन्त महँगो हुँदै गएको र वास्तविक जनप्रतिनिधि निर्वाचित हुनुपर्नेमा कालो धन आर्जन गरेका व्यक्ति र व्यापारीहरूले चुनाव जित्ने अवस्था आएकोले निर्वाचन प्रणालीमा सुधार जरुरी भएको पूर्व सांसद्हरूको भनाइ छ । पूर्व सांसद् मञ्च नेपालले विराटनगरमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चका उपाध्यक्ष घनेन्द्र बस्नेतले निर्वाचन प्रणालीले भ्रष्ट आचरणलाई बढाएको बताए । चुनावमा चन्दा दिएर सहयोग गर्नेको मुद्दा बोकेर जनप्रतिनिधिहरूले आफ्नो कार्यकाल बिताउनु पर्ने अवस्था यही निर्वाचन प्रणालीको उपज भएको तर्फ धेरैले प्रश्न उठाएको उनले बताए ।
‘चुनावमा करोडौं खर्च गर्ने, जितेपछि सावाँ उठाउन भ्रष्टाचार गर्नुपर्ने अनि हार्नेले चाहिँ बर्बादी व्यहोर्नु पर्ने अवस्था छ’ आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भने, ‘मैले २०४८ सालमा चुनाव लड्दा ३ हजार खर्च गरेको थिएँ, २०५६ मा ६ लाख खर्च गरेँ, अहिले दुई–चार करोड खर्च गर्न थालेका छन्, यो भयावह अवस्था हो ।’
पूर्व सांसद् मञ्च नेपालले चैत्र २ गते प्रदेश १ अन्तर्गतका पूर्व सांसद्हरूको भेला आयोजना गरेर यस विषयमा व्यापक छलफल गर्दैछ । त्यसको सबै तयारी पूरा भएको महासचिव शङ्करनाथ शर्मा अधिकारीले जानकारी दिए ।
पूर्व सांसद् मञ्च नेपालले विद्यमान निर्वाचन प्रणाली, संविधान कार्यान्वयनको अवस्था र वर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नाराको विषयमा आरम्भ गरेको सुझाव सङ्कलनका क्रममा निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रशस्त सुझाव आएको उनीहरूले बताए । भेलामा संविधान कार्यान्वयनको अवस्था र यसमा भएका प्रगतिको समीक्षा गरिनेछ भने सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारा कार्यान्वयनका लागि गर्नुपर्ने कामहरूको विषयमा सुझाव लिइनेछ ।
































